
रामेछाप, ९ कात्तिक । खाँडादेवी गाउँपालिका १ राकाथुमको बेलघारीमा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा दोरम्बा गाउँपालिका १ डाँडाकटेरीका राङदान तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा एक जना घाइते भएका छन् ।
शनिबार बिहान काठमाण्डौ हिँड्नुभएका तामाङको मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमा नै ज्यान गएको हो । उनी प्रदेश नम्बर ३–०२– ००१ प ५१०५ नम्बरको मोटरसाइकल लिएर दोलखाका नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण कार्कीसँगै काठमाण्डौ हिडेका थिए ।
कार्की मोटरसाइकलबाट हाम फालेर बाँच्न सफल भएका छन् । कार्की सामान्य घाइते हुनुभएको र उहाँको स्थानीय स्थास्थ्य चौकीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाउनुभएको तामाङ जिल्लाकै उत्कृष्ट किसान हुनुहुन्थ्यो । उनले दोरम्बाको डाँडाकटेरी भन्ने ठाउँमा आफ्नो जग्गा र अन्य गाउँलेको जग्गा भाडामा लिएर शैलुङ्ग एग्रिकल्चर प्रालीमार्फत किबी खेती सञ्चालन गर्दै आएका थिए ।





















