
भोजपुर १० असार ।
रामप्रसादराई गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ७४ लाख ६ हजार १५ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भएको हो।
गाउँसभामा गाउँपालिका अध्यक्ष थाम बहादुर राईले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस्तै, उपाध्यक्ष विरेन्द्र राईले बजेट प्रस्तुत गर्नुभएको थियो।

अधिवेशनमा प्रस्तुत बजेट तथा नीति कार्यक्रममाथि सदस्यहरूले छलफल गरी सर्वसम्मत रूपमा पारित गरेका हुन्। गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार सिर्जना, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ।
अध्यक्ष राईले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो। स्थानीय स्रोत–साधनको अधिकतम परिचालन गर्दै दिगो विकास र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणमा जोड दिइएको उहाँको भनाइ छ।
उपाध्यक्ष राईले प्रस्तुत गर्नुभएको बजेटले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै कृषि उत्पादन वृद्धि, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र रोजगारका अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गाउँसभाले पारित गरेको बजेट तथा नीति कार्यक्रममार्फत स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने गरी विभिन्न विकास तथा सेवा प्रवाहका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। साथै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई केन्द्रमा राखेर कार्यक्रम कार्यान्वयन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप राईकाे भनाइ छ ।





















