
भोजपुर १० असार । टेम्केमैयुङ गाउँपालिकाको २० औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । गाउँसभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५५ करोड ११ लाख ५५ हजार ८ सय ७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ । गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक तथा आर्थिक विधेयक समेत पेश गरिएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष रमादेवी राईले चालु तथा पुँजीगततर्फको समग्र बजेट प्रस्तुत गर्नुभएको थियो।
उपाध्यक्ष राईले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका विकासका प्राथमिकता क्षेत्रहरू स्पष्ट पार्नुभएको छ। प्रस्तुत बजेटमा विशेषगरी आर्थिक विकासतर्फ कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। कृषि उत्पादन वृद्धि, व्यावसायिक खेती विस्तार, किसानको आयआर्जन अभिवृद्धि तथा पशुपालन क्षेत्रको प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई सबल बनाउने लक्ष्य लिइएको गाउँपालिकाले जनाएको छ।
गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना तथा सुशासनलाई प्राथमिकताका साथ समेटिएको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास र समृद्ध गाउँपालिका निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रमहरू तर्जुमा गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो।
गाउँपालिकाले कृषि क्षेत्रलाई उत्पादनमुखी तथा व्यवसायिक बनाउँदै युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्ने योजना अघि सारेको छ। यस्तै मुन्दुम पदमार्गको विकास, ग्रामीण सडक, शिक्षा तथा स्वास्थ्य पूर्वाधारको विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकमैत्री प्रशासनलाई पनि प्राथमिकतामा राखिएको छ।
गाउँसभामा प्रस्तुत विनियोजन विधेयक तथा आर्थिक विधेयकमाथि सदस्यहरूले छलफल गरी सुझाव दिएका छन्। आगामी बैठकमा विस्तृत छलफलपछि बजेट तथा नीति कार्यक्रम पारित गरिने जनाइएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार स्थानीयको आवश्यकता र प्राथमिकताका आधारमा बजेट, नीति तथा कार्यक्रम तयार गरिएको हो ।गाउँसभाको अर्को बैठक असार २६ गते बस्ने गरी पहिलो बैठक सम्पन्न भएको छ ।






















