भोजपुरमा ४४औँ बीपी स्मृति दिवस तथा कांग्रेसको ‘जरा अभियान’ सम्पन्न


भोजपुर, साउन ६। नेपाली कांग्रेस भोजपुरले ४४औँ बीपी स्मृति दिवस मनाउनुका साथै यसअघि सञ्चालन गरेको ‘जरा अभियान’ कार्यक्रम सम्पन्न गरेको छ। नेपाली काङ्ग्रेसका जिल्ला सभापति तथा कोशी प्रदेश आर्थिक विकास समितिका अध्यक्ष विनोद बान्तावाको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

नेपाली कांग्रेस भोजपुरले केही समयअघि जिल्लाका नौवटै स्थानीय तहका वडा तथा टोलस्तरसम्म पुगेर ‘जरा अभियान’ सञ्चालन गरेको थियो। अभियानका क्रममा पार्टीका क्रियाशील सदस्यता नवीकरण, संगठन सुदृढीकरण तथा नेपाली कांग्रेसका विचार, सिद्धान्त र नीतिबारे कार्यकर्ता तथा जनस्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानअन्तर्गत भएका गतिविधि तथा उपलब्धिको कार्यक्रममा समीक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि दीपनकुमार श्रेष्ठले बीपी कोइरालाको विचार, आदर्श र राजनीतिक योगदानलाई स्मरण गर्दै उहाँले अघि सार्नुभएको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र प्रजातान्त्रिक मूल्य–मान्यतालाई व्यवहारमा आत्मसात् गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टीको संगठनलाई तल्लो तहसम्म बलियो बनाउँदै जनताको सुख–दुःखमा साथ दिने गरी कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।

नेपाली कांग्रेस भोजपुरका सभापति विनोद बान्तवाले ‘जरा अभियान’मार्फत जिल्लाका नौवटै स्थानीय तहका वडा तथा टोलस्तरसम्म पुगेर पार्टीको संगठनको अवस्था बुझ्ने, क्रियाशील सदस्यता नवीकरण गर्ने तथा पार्टीका विचार र सिद्धान्तबारे जागरण फैलाउने काम गरिएको बताउनुभयो। उहाँले अभियानका क्रममा प्राप्त सुझाव र अनुभवका आधारमा आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ र चलायमान बनाइने बताउनुभयो।

सभापति बान्तवाले बीपी कोइरालाको विचार र आदर्शलाई नयाँ पुस्तासम्म पु¥याउँदै पार्टीलाई जनतासँग थप नजिक बनाउने गरी कांग्रेसले आफ्ना गतिविधि अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा ४४औँ बीपी स्मृति दिवसका अवसरमा बीपी कोइरालाको योगदान र विचारबारे चर्चा गर्नुका साथै ‘जरा अभियान’को समीक्षा गरिएको छ। पार्टी संगठन विस्तार, क्रियाशील सदस्यता नवीकरण तथा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रमका विषयमा समेत छलफल गरिएको जनाइएको छ। कार्यक्रममा जिल्लास्थित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, क्रियाशील सदस्यलगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार