
गणेश विष्ट
भोजपुर, ६ साउन ।
जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले ‘एक घण्टाको अवधि, जिल्ला प्रशासनको परिधि’ अभियान सुरु गरेको छ। अभियानअन्तर्गत नागरिक सहायता कक्षाबाट आवश्यक कागजात र प्रक्रिया पूरा गरी सेवा लिन कार्यालय प्रवेश गरेका सेवाग्राहीलाई एक घण्टाभित्रै नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, संस्था दर्ता तथा नवीकरणलगायतका प्रशासनिक सेवा उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित ‘सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम’ मा प्रमुख जिल्ला अधिकारी पौडेलले सार्वजनिक सेवालाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले अनावश्यक झन्झट र लामो समयसम्म सेवा कुर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सेवाग्राहीलाई निर्धारित समयमै सेवा प्रदान गर्न कार्यालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
प्रमुख जिल्ला अधिकारी पौडेलले कार्यालयसम्म आउन नसक्ने अशक्त, अपाङ्गता भएका तथा असहाय नागरिकलाई घरमै पुगेर नागरिकता वितरण गर्ने सेवा समेत सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। कुनै पनि नागरिक प्रशासनिक सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले आवश्यकता अनुसार घरदैलोमै पुगेर सेवा उपलब्ध गराउने व्यवस्था गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरकी कार्यवाहक प्रमुख अनिशा खड्काले जिल्ला प्रशासन कार्यालयले सुरु गरेको अभियान जनमुखी, परिणाममुखी तथा अनुकरणीय रहेको बताउनुभयो। यस्ता अभ्यासले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै सुशासन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँले बताउनुभयो।
त्यसैगरी भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले ‘एक घण्टाको अवधि, जिल्ला प्रशासनको परिधि’ अभियानको प्रशंसा गर्दै यसलाई स्थानीय तहसहित अन्य सबै सरकारी कार्यालयमा समेत विस्तार गर्नुपर्ने धारणा राख्नुभयो। सार्वजनिक निकायले समयसीमाभित्र सेवा उपलब्ध गराउन सके सेवाप्रतिको नागरिकको विश्वास अझ सुदृढ हुने उहाँले उल्लेख गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा सेवा प्रवाहमा देखिएका समस्या, सेवाग्राहीले भोग्नुपरेका कठिनाइ तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले सूचना प्रविधिको प्रभावकारी उपयोग, सेवामैत्री कार्य वातावरण तथा निकायबीचको समन्वयलाई सुदृढ बनाएर सार्वजनिक सेवालाई अझ छिटो, सहज र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममाहतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राई, रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, अरुण गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।























