
युवराज विष्ट
भोजपुर, २७ साउन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। भारत सरकारको सहयोगमा निर्माण हुने केन्द्रका लागि मंगलबार गाउँपालिका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनास कुमार सिंहले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको कुल लागत रु. नौ करोड ८८ लाख ६७ हजार ७८५ रहेको छ। परियोजनाका लागि कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत रकम तथा मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ। समझदारीपत्र अनुसार केन्द्र निर्माणको अवधि १५ महिना तोकिएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार निर्माण हुने केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, कृषि उपज संकलन स्थल, ग्रेडिङ तथा वर्गीकरण, प्रशोधनलगायतका सुविधा रहनेछन्।
गाउँपालिका अध्यक्ष बस्नेतले लामो समयदेखिको पहल, निरन्तर समन्वय र प्रयासपछि कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माणको योजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो। उहाँले केन्द्रलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै यसबाट स्थानीय कृषकले उत्पादनको उचित बजार पाउने विश्वास व्यक्त गर्नुभयो।
“कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माणका लागि भारतिय दूतावाससँग समझदारी पत्रमा हस्ताक्षर गरेका छौँ”अध्यक्ष बस्नेतले भन्नुभयो,“यो हाम्रो गाउँपालिकाको गौरवको योजना पनि हो ।”
कृषि उपजको उत्पादन बढ्दै जादा व्यवस्थित संकलन, भण्डारण र बजार व्यवस्थापनको पर्याप्त सुविधा नहुँदा कृषकले समस्या भोग्दै आएका छन्।






















