
युवराज विष्ट
भोजपुर, २८ साउन ।
संखुवासभाको दुर्गम भोटखोला गाउँपालिका–४ सिप्रुङमा यातायातको सुविधा नपुगेका कारण खच्चडमार्फत निर्माण सामग्री ढुवानी गरी विद्यालय भवन निर्माण गरिएको छ। युडब्लुएस नेपालले बरुण आधारभूत विद्यालयमा नौ कोठे बालमैत्री विद्यालय भवन निर्माण सम्पन्न गरेको हो।
निर्माण सम्पन्न भवनको युडब्लुएस नेपालका राष्ट्रिय निर्देशक अभिनास झा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्टुक भोटेले संयुक्तरूपमा उद्घाटन गर्नुभयो। विद्यालय भवनमा खानेपानी सुविधासहित पाँच कोठे बाल तथा अपाङ्गमैत्री शौचालयसमेत निर्माण गरिएको छ।
दुर्गम भौगोलिक अवस्थाका बाबजुद विद्यार्थीलाई सुरक्षित तथा गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले विद्यालय भवन निर्माण गरिएको युडब्लुएस नेपालले जनाएको छ। यातायातको सहज पहुँच नभएको क्षेत्रमा आवश्यक निर्माण सामग्री खच्चडमार्फत ढुवानी गरी भवन निर्माण सम्पन्न गरिएको हो।
उद्घाटन समारोहमा युडब्लुएस नेपालका राष्ट्रिय निर्देशक झाले विद्यालय भवन निर्माणलाई भौतिक पूर्वाधार विकासमा मात्र सीमित गर्न नहुने बताउनुभयो। उहाँले विद्यालयको समग्र शैक्षिक सुधारका लागि भौतिक पूर्वाधार महत्वपूर्ण आधार भएकाले आगामी पाँच वर्षसम्म विद्यालय, समुदाय तथा स्थानीय सरकारसँगको सहकार्यमा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोटेले दुर्गम क्षेत्रमा समेत गुणस्तरीय विद्यालय भवन निर्माण गरी विद्यार्थीको उज्ज्वल भविष्यका लागि योगदान पु¥याएकोमा युडब्लुएस नेपाल, भोटखोला गाउँपालिका तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्नुभयो। भवन निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता र सहयोग महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
युडब्लुएस नेपालको साझेदारीमा संखुवासभाका विभिन्न विद्यालयमा विद्यालय भवन निर्माणसँगै शैक्षिक सुधार लक्षित कार्यक्रम सञ्चालन भइरहेका छन्। संस्थाका अनुसार संखुवासभा जिल्लामा मात्रै हालसम्म ५० वटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन्।

युडब्लुएस नेपालका राष्ट्रिय निर्देशक झाले विद्यालय पूर्वाधार विकाससँगै शैक्षिक नेतृत्व विकास, शिक्षकको क्षमता अभिवृद्धि, बालअधिकार प्रवद्र्धन तथा समुदायको सहभागिता वृद्धि गर्ने क्षेत्रमा समेत संस्थाले काम गरिरहेको जानकारी दिनुभयो।
पाँच वर्षे साझेदारी कार्यक्रम सम्पन्न भएका ४३ वटा विद्यालय समुदाय तथा स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको उहाँले बताउनुभयो। सन् २०१५ मा स्थापना भएको युडब्लुएस नेपालले नेपालका विभिन्न जिल्लामा शैक्षिक सुधार तथा विद्यालय पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ।






















