
युवराज विष्ट
भोजपुर, २७ साउन।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा बर–पिपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालय भोजपुरको करिब रु. ७ लाख बजेटमा यहाँ बर–पिपल रोपनसँगै चौतारा निर्माण गरिएको हो ।
डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाका अनुसार धार्मिक, सांस्कृतिक तथा वातावरणीय दृष्टिले महत्वपूर्ण मानिने बर–पिपलको संरक्षण गर्दै यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।
“बर–पिपल हाम्रो परम्परा र जैविक विविधतासँग जोडिएको महत्वपूर्ण सम्पदा हो”प्रमुख मियाले भन्नुभयो,“यसको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चौतारा निर्माण र वृक्षरोपणलाई प्राथमिकता दिएका छौँ ।”
वडाध्यक्ष नभराज माङ्गफाहाङ्गले बर–पिपल अध्ययन केन्द्र स्थापना गर्ने योजना रहेको जानकारी दिँदै यस क्षेत्रलाई ‘ऋषि वन’ का रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो। यहाँ आठ प्रजातिका बरका बिरुवा रोपिएका छन् । साथै गुराँसलगायत अन्य स्थानीय प्रजातिका बिरुवासमेत रोपण भइरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘बर–पिपल स्वामी चौतारी निर्माण कार्यक्रम’ अन्तर्गत आफ्नो पहलमा चौतारा निर्माणसँगै बर–पिपल रोपन गरिएको हो। चौताराले स्थानीयवासीलाई विश्रामस्थल उपलब्ध गराउनुका साथै बाह्य पर्यटकलाई आकर्षित गर्ने थप आधार तयार पारेको छ ।
स्थानीयवासी नन्दकुमार तिम्सिनाले पछिल्लो समय बर–पिपलका रुखहरू मासिँदै गएको अवस्थामा संरक्षणसहित गरिएको यस्तो पहल सकारात्मक रहेको बताउनुभयो। “चौतारीसहित बर–पिपल संरक्षण गरिनु सराहनीय छ”उहाँले भन्नुभयो,“ यसले गाउँको पहिचान जोगाउनुका साथै वातावरणीय सन्तुलन कायम राख्न मद्दत पुग्छ ।”
स्थानीय समुदायको सहभागितामा सञ्चालन भएको यो कार्यक्रमले जैविक विविधता संरक्षण, धार्मिक–सांस्कृतिक सम्पदाको जगेर्ना तथा ग्रामीण पर्यटन विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ। साथै, वन क्षेत्रको दिगो उपयोग र संरक्षणमार्फत स्थानीयलाई आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि राखिएको वन कार्यालयले जनाएको छ।
बर–पिपल संरक्षणसँगै चौतारा निर्माण, हरियाली विस्तार र अध्ययन केन्द्र स्थापना जस्ता गतिविधिले दीर्घकालीन रूपमा टेम्केमैयुङ क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग स्थानीयबासीको भनाइ छ ।






















