भोजपुर लगायत कोशीमा उत्पादित वस्तुको निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग


युवराज विष्ट
भोजपुर, ९ भदौ ।
भोजपुर लगायत कोशी प्रदेशमा उत्पादन हुने कृषि तथा अन्य स्थानीय वस्तुको सम्भावना पहिचान गर्दै निर्यात प्रवद्र्धनका लागि प्रदेश योजना आयोगले छलफल तथा सुझाव सङ्कलन थालेको छ । आयोगले भोजपुरमा कृषि उपजको उत्पादन, बजार विस्तार, गुणस्तर सुधार, बजारीकरण तथा व्यापार सहजीकरणका विषयमा सरोकारवालासँग समूहगत छलफल गरेको हो ।

जिल्लाको कृषि क्षेत्रको सम्भावना पहिचान गरी आगामी योजना तथा कार्यक्रम निर्माणका लागि आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, वन, कृषि, घरेलु तथा साना उद्योग क्षेत्रका प्रतिनिधि, उद्योगी, व्यापारी तथा किसानको सहभागिता रहेको थियो ।

छलफलमा भोजपुरमा उत्पादन भइरहेका कृषि उपजको वर्तमान अवस्था, उत्पादन वृद्धि गर्ने सम्भावना, बजार तथा बजारीकरण, गुणस्तर कायम गर्ने उपाय, व्यापार सहजीकरण र स्थानीय उत्पादनलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने विषयमा सहभागीले धारणा तथा सुझाव दिएका थिए ।

त्यसैगरी कृषि उत्पादनलाई व्यवस्थित र व्यावसायिक बनाउन उत्पादनको ब्रान्डिङ, उत्पादन क्लस्टर निर्माण, आवश्यक पूर्वाधार विकास, कृषि तथा प्रशोधनमा आधारित उद्योग स्थापना, वित्तीय पहुँच विस्तार र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा प्रदेश योजना आयोगलाई आवश्यक सुझाव दिइएको छ ।

सहभागीहरूले जिल्लाको भौगोलिक अवस्था, हावापानी र कृषि विविधताअनुसार सम्भावनायुक्त उत्पादनको पहिचान गरी उत्पादनदेखि बजारसम्मको मूल्य शृङ्खला विकास गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न प्रदेश, स्थानीय र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनीहरूको सुझाव थियो ।

कृषि उपज उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने मात्र नभई उत्पादित वस्तुको गुणस्तर, प्रशोधन, प्याकेजिङ, ब्रान्डिङ र बजार व्यवस्थापनमासमेत राज्यले लगानी गर्नुपर्ने सहभागीले बताएका छन् ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले कोशी प्रदेशका १४ वटै जिल्लामा स्थानीयस्तरका आवश्यकता, सम्भावना र सरोकारवालाका सुझाव सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । स्थानीय तह, किसान, उद्योगी, व्यापारी तथा सम्बन्धित सरकारी निकायबाट प्राप्त सुझावलाई प्रदेशको भावी नीति, योजना तथा कार्यक्रम निर्माणमा उपयोग गरिने उहाँले जानकारी दिनुभयो ।

“कोशी प्रदेशमा रहेका प्राकृतिक स्रोत र उत्पादनका सम्भावनाको खोजी गरिरहेका छौँ”, उपाध्यक्ष निरौलाले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादन हुने वस्तुको सम्भावना पहिचान गरी उत्पादन, प्रशोधन, बजारीकरण र निर्यातसम्म जोड्ने गरी आगामी योजना निर्माणमा प्राप्त सुझावलाई समेटिनेछ ।”

उहाँले स्थानीय उत्पादनको क्षमता र बजारको मागलाई आधार बनाएर योजना निर्माण गर्न सके प्रदेशको उत्पादन र रोजगारी दुवै वृद्धि गर्न सकिने बताउनुभयो ।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी कृषि तथा जिल्लामा रहेका सम्भावनायुक्त क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । स्थानीयस्तरमा उत्पादनको सम्भावना भए पनि बजार, पूर्वाधार, प्रशोधन र प्रविधिको अभावका कारण अपेक्षित लाभ लिन नसकिएको उहाँको भनाइ छ ।

“भोजपुरमा उत्पादन हुने कृषि उपजलाई व्यावसायिक र बजारमुखी बनाउन तीनै तहका सरकारको सहकार्य आवश्यक छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “सम्भावनायुक्त उत्पादनको पहिचान गरी लगानी र बजारीकरणमा ध्यान दिन सके स्थानीय किसानको आम्दानी बढ्नुका साथै जिल्लाको अर्थतन्त्रमा समेत योगदान पुग्नेछ ।”

छलफलबाट प्राप्त सुझावलाई प्रदेश योजना आयोगले आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समेट्ने जनाएको छ । साथै नीति तथा संस्थागत समन्वय, रणनीति निर्माण, कार्यक्रमको अनुगमन र जवाफदेहितालाई प्रभावकारी बनाउने विषयमासमेत छलफल गरिएको थियो ।

भोजपुरको कृषि क्षेत्रलाई उत्पादनमुखी, व्यावसायिक तथा निर्यातमुखी बनाउँदै स्थानीय उत्पादनको पहिचान र छुट्टै ब्रान्ड निर्माण गर्न सके यहाँको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने सहभागीको भनाइ छ ।

कृषिको क्षेत्रको समग्र विषयमा कृषि ज्ञान केन्द्रका प्रमुख मुकेश यादव र वन क्षेत्रको विषयमा डिभिजन वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले प्रस्तुतिकरण राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार