भोटेकोशी बाढीपीडितलाई हतुवागढीद्वारा २४ लाख ५३ हजार सहयोग


युवराज विष्ट
भोजपुर, २३ भदौ ।
भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। विपद्को कठिन घडीमा पीडित परिवारको मद्दतका लागि गाउँपालिकाले कुल २४ लाख ५३ हजार ५०४ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने भएको हो।
स्थानीय सरकार,जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू ऐक्यबद्ध भएर स्वेच्छिक रूपमा उक्त सहयोग रकम संकलन गरेका हुन्। बाढीपीडितको घाउमा मलम लगाउने उद्देश्यले स्थानीय सरकार र प्रशासनिक क्षेत्रका सबै पक्ष एकजुट भई राहत रकम जुटाइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार संकलित रकममध्ये सबैभन्दा ठूलो हिस्सा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट प्राप्त भएको छ। पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूबाट रु. १६ लाख २ हजार ७७७ जुटाइएको छ। यसैगरी, गाउँपालिका मातहतका कर्मचारीहरूबाट रु. ६ लाख ७१ हजार १२७, जनप्रतिनिधिहरूबाट रु. ७९ हजार र गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. १ लाख गरी कुल रु. २४ लाख ५३ हजार ५०४ जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो।
प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भई पीडामा परेका भोटेकोशीका बाढीपीडित नागरिकहरूलाई सहयोग पुगोस् भन्ने पवित्र भावनाले सहयोग गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो। “हामीबाट भएको यो सानो प्रयासले विपद्मा परेकालाई उद्धार र राहतमा केहि न केहि राहत मिल्नेछ,” अध्यक्ष राईले भन्नुभयो, “स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र शैक्षिक क्षेत्रका सम्पूर्ण सदस्यहरू हातेमालो गर्दै यो सहयोग रकम जुटाउन सफल भएका हौँ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार