सेवा प्रवाहमा नयाँ अभ्यास : रामप्रसादराईको काठमाण्डौमा घुम्ती शिविर


युवराज विष्ट
भोजपुर, २३ साउन ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाले काठमाडौँमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको छ। गाउँपालिकाले राजधानीमा रहेका सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त शिविर सञ्चालन गरेको हो।
शिविरमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण, बायोमेट्रिक विवरण अद्यावधिकलगायत गाउँपालिकाबाट प्रदान गरिने सेवा उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिनुभयो। उहाँका अनुसार, उपचार, रोजगारी, अध्ययन तथा अन्य कारणले काठमाडौँमा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरी यस्तो सेवा विस्तार गरिएको हो।
“राज्यको नीतिअनुसार सामाजिक सुरक्षा भत्ताका लागि बायोमेट्रिक अनिवार्य भएकाले राजधानीमै रहेका नागरिकलाई सहज बनाउन घुम्ती शिविर सञ्चालन गरेका हौं,”अध्यक्ष राईले भन्नुभयो, “यसले सेवाग्राहीको समय र खर्च दुवै बचत गरेको छ।”


काठमाडौँमै सेवा पाउँदा गाउँपालिका धाउनुपर्ने बाध्यता हटेको भन्दै सेवाग्राहीहरूले राहत महसुस गरेका छन्। गाउँपालिकाले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
यसैबीच, गाउँपालिकाले वडा–वडामा सामाजिक सुरक्षा नविकरणको सेवा प्रवाह गरिरहेकोले वडामा आउन नसक्नेहरुलाई लक्षित गर्दै यही साउन २८ गते इटहरीबाट पनि यस्तै सेवा प्रदान गर्ने तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो।
यस प्रकारको पहलले स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुका साथै नागरिकसँगको सम्बन्ध थप मजबुत बनाउने गाउँपालिकाले विश्वास लिएको छ । शनिबार ललितपुरको चापागाउँमा सञ्चालन गरिएको शिविरबाट १५ जनालाई सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार