
युवराज विष्ट
भोजपुर, २९ साउन ।
नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले भोजपुरमा वडास्तरबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचयपत्र जिल्लाका नौवटै स्थानीय तहका ८१ वडामार्फत वितरण गर्ने तयारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार हालसम्म जिल्ला प्रशासन कार्यालयमा ६३ हजार ३०७ थान राष्ट्रिय परिचयपत्र प्राप्त भइसकेका छन्। नागरिकलाई जिल्ला सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउँदै सम्बन्धित वडाबाटै परिचयपत्र उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।
राष्ट्रिय परिचयपत्र वितरण अभियान चार चरणमा सञ्चालन गरिने भएको छ। पहिलो चरणअन्तर्गत आगामी भदौ १० गतेदेखि अरुण, पौवादुङमा र टेम्केमैयुङ गाउँपालिकाका वडाबाट परिचयपत्र वितरण सुरु गरिनेछ। दोस्रो चरणमा भोजपुर नगरपालिका र रामप्रसादराई गाउँपालिका, तेस्रो चरणमा आमचोक र हतुवागढी गाउँपालिका तथा चौथो चरणमा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका वडाबाट परिचयपत्र वितरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार राष्ट्रिय परिचयपत्र लिनका लागि बायोमेट्रिक विवरण अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्ने भएकाले परिचयपत्र लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ।
उहाँका अनुसार अशक्त तथा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने अभियानअन्तर्गत अन्य नागरिकको परिचयपत्र वितरण सम्पन्न भएपछि घरमै पुगेर परिचयपत्र उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।
वडास्तरबाट परिचयपत्र वितरण सुरु भएपछि जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न थप सहज हुने कार्यालयले जनाएको छ। वडास्तरमै सेवा प्राप्त हुने भएपछि ग्रामीण क्षेत्रका नागरिकलाई सदरमुकामसम्म आउनुपर्ने समय र खर्च बचत हुनेछ ।






















