भोजपुर प्रहरीको वार्षिक कार्य सम्पादन : लागूऔषध नियन्त्रणमा उल्लेख्य प्रगति


युवराज विष्ट

भोजपुर, २ साउन ।

जिल्ला प्रहरी कार्यालय भोजपुरले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यालयले वर्षभरि सम्पादन गरिएका गतिविधि, उपलब्धि तथा चुनौतीहरू सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार निर्धारित लक्ष्यअनुसार नै अधिकांश क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरिएको छ। विशेषगरी लागूऔषध नियन्त्रण, सवारी व्यवस्थापन, राजस्व संकलन तथा शान्ति सुरक्षाको क्षेत्रमा सुधार देखिएको कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०८२÷०८३ मा प्रहरीले एक हजार ५ सय ५६ केजी ४६ ग्राम तयारी गाँजा बरामद गरेको छ। गाँजाको उत्पादन तथा बिक्री वितरणमा संलग्न मुख्य व्यक्तिहरूसहित १४ जनालाई पक्राउ गरिएको छ भने लागूऔषध गाँजासम्बन्धी पाँच वटा मुद्दा दर्ता भएका छन्। त्यस्तै मनोदिपक पदार्थतर्फ २० हजार ४२ चक्की र ४ हजार क्याप्सुलसहित तीन जनालाई पक्राउ गरिएको जनाइएको छ।

यसै अवधिमा प्रहरीले बोट र बेर्ना गरी एक लाख ३९ हजार १३५ गाँजाका बोट नष्ट गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१÷०८२ मा भने १६ केजी बेवारिसे गाँजा मात्र बरामद भएको थियो। यस आधारमा चालु वर्षमा लागूऔषध नियन्त्रणमा उल्लेख्य सुधार भएको कार्यालयले जनाएको छ।

सवारी व्यवस्थापनतर्फ पनि प्रहरीले सक्रियता बढाएको छ। आर्थिक वर्ष २०८२÷०८३ मा एक हजार ५ सय १६ सवारी साधन कारबाहीमा परेका छन्, जसबाट रु. १५ लाख ५ सय राजस्व संकलन भएको छ। सचेतनामूलक कार्यक्रम र कडाइका साथ निगरानी बढाइएपछि सवारी दुर्घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०८१÷८२ मा ४५ वटा दुर्घटना भएका थिए भने आर्थिक वर्ष २०८२÷८३ मा घटेर २० वटामा सीमित भएका छन्।

सामाजिक तथा सुरक्षा संवेदनशील विषयमा पनि प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरेको जनाएको छ। ‘जेन जी’ आन्दोलनअन्तर्गत १३ वटा विरोध कार्यक्रम भए पनि जिल्ला सुरक्षा समितिको समन्वय र प्रहरीको सक्रियताका कारण कुनै पनि अप्रिय घटना हुन नदिइएको जानकारी दिइएको छ।

कार्य तथा विशेष शाखाबाट प्रवाह गरिएका सेवामा पनि वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८१÷०८२ मा १८८ चालचलन सिफारिस, १०६ विपद् क्षति सिफारिस, ७६ नागरिकता सर्जमिन सिफारिस र ५५ पेन्सन सर्जमिन सिफारिस गरिएकोमा आर्थिक वर्ष २०८२÷०८३ मा यी सेवाहरूमा उल्लेख्य वृद्धि भएको छ। यस अवधिमा ३३३ चालचलन सिफारिस, ८५ विपद् क्षति सिफारिस तथा १४९ नागरिकता सर्जमिन सिफारिस गरिएको कार्यालयले जनाएको छ।

राजस्व संकलनतर्फ पनि प्रहरीको सक्रियता देखिएको छ। भन्सार छलीतर्फ एक सवारी साधनबाट रु. ४ लाख राजस्व संकलन गरिएको छ भने अवैध नदिजन्य सामग्री ओसारपसारमा संलग्न सवारी साधन कारबाहीबाट रु. ८ लाख ३७ हजार ८३५ राजस्व संकलन गरिएको जानकारी दिइएको छ।

समग्रमा आर्थिक वर्ष २०८२÷०८३ मा लागूऔषध नियन्त्रण, सवारी व्यवस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षाको क्षेत्रमा सकारात्मक प्रगति हासिल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह, अपराध नियन्त्रण र समुदायसँग सहकार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धतासमेत कार्यालयले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार