
युवराज विष्ट
भोजपुर,३१ असार।
भोजपुरको हतुवागढी गाउँपालिकाले उत्कृष्ट सेवा प्रवाहमा योगदान पु¥याउने ११ जना कर्मचारीलाई नगदसहित सम्मान गरेको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा इमान्दारी, जिम्मेवारी र प्रभावकारी सेवा प्रदान गर्ने कर्मचारीलाई जनही नगद रु ११ हजार १११ सहित सम्मानपत्र प्रदान गरी सम्मानित गरेको हो। गाउँपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न शाखा तथा वडामा कार्यरत कर्मचारीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुने कर्मचारीहरूमा लेखा अधिकृत खेमराज भट्टराई, पूर्वाधार विकास प्राविधिक जय बहादुर खड्का, कृषि शाखा प्रमुख ज्योति देवान, रोजगार सेवा केन्द्रका सहायकस्तर कर्मचारी लाल बहादुर प्रधान र वडा सचिव तारा चन्द्र राई रहेका छन्।
त्यसैगरी स्वास्थ्यकर्मी फडिन्द्र श्रेष्ठ, स्वास्थ्य नर्सिङ सिता कुमारी राई, स्वास्थ्य स्वयंसेविका रिता तामाङ, कार्यालय सहयोगी राजु काफ्ले, वडा कार्यालय सहयोगी शुक्रराज राई तथा कार्यालय सहयोगी विनु राईलाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता सम्मानले हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले जनतालाई छिटो, छरितो र गुणस्तरीय सेवा दिन कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले कर्मचारीहरूको कार्यसम्पादनका आधारमा हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताउँदै आगामी दिनमा समेत उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो।
गाउँपालिकाले विगतका वर्षहरुबाट उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्दै आएको छ। यसले कर्मचारीहरूबीच सकारात्मक प्रतिस्पर्धा सिर्जना हुनुका साथै सेवा प्रवाहमा थप सुधार आउने गाउँपालिकाका प्रशासन शाखा प्रमुख कर्णकुमार लिम्बुले बताउनुभयो।























