बोखिममा ६ सय घरपरिवारलाई विद्युतिय चुलो वितरण


युवराज विष्ट
भोजपुर, ११ साउन
ग्रामीण क्षेत्रमा आधुनिक प्रविधि विस्तारसँगै स्वच्छ ऊर्जा प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिका ५ बोखिमका ६ सय घरपरिवारलाई  इण्डक्सन चुलो ( विद्युतिय चुलो) वितरण गरिएको छ। वडाको पहल तथा वैकल्पिक ऊर्जा केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएको हो ।
परम्परागत रूपमा दाउरा र ग्यासमा निर्भर रहँदै आएका स्थानीयलाई वैकल्पिक ऊर्जातर्फ आकर्षित गर्ने लक्ष्यसहित चुलो वितरण गरिएको वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिनुभयो। उहाँले विद्युतिय चुलो प्रयोगले आयातित ग्यासको प्रयोग घट्नुका सागै वन विनाश न्यूनीकरण, समय बचत तथा घरभित्रको धुवाँजन्य प्रदूषण कम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

“ग्रामीण क्षेत्रमा अझै पनि दाउराको अत्यधिक प्रयोग हुने भएकाले यसलाई क्रमशः विस्थापित गर्दै स्वच्छ ऊर्जा प्रवद्र्धन गर्नु आवश्यक छ,” वडाध्यक्ष प्रधानले भन्नुभयो, “यस कार्यक्रमले वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।”


कार्यक्रमअन्तर्गत वितरण गरिएका चुलो प्रयोगका लागि स्थानीयलाई आवश्यक प्राविधिक जानकारीसमेत दिइएको छ। स्थानीयबासी मिना शेर्पाले विद्युतिय चुलो प्रयोगपछि दैनिक जीवन सहज बन्ने बताउनुभयो। “पहिले दाउरा बाल्दा धेरै समय लाग्थ्यो । धुवाँले आँखा पोल्थ्यो,” उहाँले भन्नुभयो, “विद्युतिय चुलोको प्रयोगले सहजता हुने आशा गरेकी छु ।”
त्यस्तै अर्का स्थानीय खगेन्द्र प्रसाद फुयालले विद्युतिय चुलो प्रयोगले वन संरक्षणमा टेवा पुग्ने धारणा राख्नुभयो। विद्युतिय चुलोले सहजता थप्ने उहाँको भनाइ छ । वैकल्पिक ऊर्जा प्रवद्र्धनसँगै ग्रामीण क्षेत्रको जीवनस्तर उकास्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार