
युवराज विष्ट
भोजपुर, २ साउन ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु.१० करोड लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। कृषि उत्पादनलाई व्यवस्थित बनाउदै कृषकलाई बजारसँग प्रत्यक्ष जोड्ने तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो।
भारत सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त केन्द्रको कुल लागत रु. ९ करोड ८८ लाख ६७ हजार ७८५ रहेको छ। परियोजनामा ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत र भ्याट रकम गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार निर्माण हुने केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, संकलन स्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधन सुविधासमेत रहनेछन्। यसले विशेषगरी तरकारी, फलफूललगायत स्थानीय उत्पादनको संकलन, संरक्षण र बिक्री वितरणलाई सहज बनाउने गाउँपालिकाको भनाइ छ।
हाल कृषकले उत्पादन गरेको वस्तु उचित बजार अभावका कारण कम मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको अवस्थामा यो केन्द्र सञ्चालनमा आएपछि कृषकले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ। साथै, उत्पादनको गुणस्तर कायम राख्दै बाहिरी बजारसम्म पु¥याउन सहज हुने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो समयदेखिको पहल, समन्वय र अथक प्रयासपछि यो योजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार यस योजनालाई गाउँपालिकाको गौरवको योजनाका रूपमा लिइएको छ।
“यो केन्द्र निर्माण भएपछि हाम्रो क्षेत्रका कृषकले उत्पादन गरेको वस्तु सहज रूपमा बजारमा पु¥याउन सक्नेछन्,” अध्यक्ष बस्नेतले भन्नुभयो, “विकासको माध्यमबाट यहाँको जमिनको मूल्यसमेत बढाउने लक्ष्य राखेका छौँ। साथै, गाउँमै रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने हाम्रो उद्देश्य हो।”

उत्पादन संकलन तथा बिक्री प्रणाली व्यवस्थित हुँदा कृषि क्षेत्रमा व्यावसायिकता बढ्ने, आधुनिक प्रविधिको प्रयोग विस्तार हुने र कृषकहरू व्यवसायिक खेतीतर्फ उन्मुख हुने अध्यक्ष बस्नेतको भनाइ छ । यसले स्थानीय तहमा उत्पादन र बजारबीचको दूरी घटाउँदै समग्र आपूर्ति प्रणालीलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
परियोजना कार्यान्वयनसँगै टेम्केमैयुङ क्षेत्रमा पूर्वाधार विकासमासमेत महत्वपूर्ण योगदान पुग्ने जनाइएको छ। केन्द्र स्थापना भएपछि आसपासका क्षेत्रको जमिन मूल्यमा वृद्धिसगै व्यापारिक गतिविधि विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष बस्नेतको भनाइ छ। गाउँपालिकाले चालु आर्थिक वर्षभित्रै निर्माण सम्झौता सम्पन्न गरी काम अगाडि बढाउने लक्ष्य राखेको छ। समयमै निर्माण सम्पन्न भएमा यस केन्द्रले टेम्केमैयुङलाई कृषि उत्पादन तथा बजारीकरणको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने स्थानीय जानकारहरूको भनाइ छ।
यसका साथै, बसाइँसराइ न्यूनीकरण गर्दै गाउँमै उत्पादनमूलक गतिविधि विस्तार गर्ने, कृषिमा आधारित उद्यम विकास गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने दीर्घकालीन लक्ष्यसमेत गाउँपालिकाले लिएको जनाएको छ।























