किरात राई पत्रकार संघको केन्द्रीय अध्यक्षमा अवतारमान राई


भोजपुर ८ असोज ।
किरात राई पत्रकार संघको छैटौँ केन्द्रीय महाधिवेशन भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, चखेवामा सम्पन्न भएको छ। महाधिवेशनबाट अवतारमान राईको अध्यक्षतामा   १२ सदस्यीय नयाँ कार्यसमिति  सर्वसम्मत चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा रिता राराहाङ राई, उपाध्यक्षमा विशाल राई र बुद्धि चाम्लिङ राई, महासचिवमा नुनुता राई, सचिवमा राजकुमार राई र विवेक राई, प्रवक्तामा दिलबहादुर राई तथा कोषाध्यक्षमा घनवल राई चयन हुनुभएको छ। त्यसैगरी सदस्यमा बबिता राई, प्रदीपचन्द्र राई र तेज किराती चयन हुनुभएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले समाजमा फैलिरहेका भ्रम र सामाजिक सञ्जालमार्फत सम्प्रेषण भइरहेका गलत सूचनालाई पत्रकारिताले तथ्यका आधारमा चिर्नुपर्ने बताउनुभयो। डिजिटल प्रविधिको विकाससँगै पत्रकारिताको भूमिका अझ महत्वपूर्ण बन्दै गएकाले खोज पत्रकारितालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।

त्यस्तै, किरात राई यायोक्खाका केन्द्रीय उपमहासचिव अर्जुन राईले पत्रकारिता समाजको ऐना भएकाले तथ्य र प्रमाणमा आधारित भएर समाचार सम्प्रेषण गर्न आवश्यक रहेको बताउनुभयो। पत्रकारिताले समाजका विषयवस्तुलाई सही ढङ्गले उजागर गर्दै सकारात्मक परिवर्तनका लागि भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।
महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई कार्यक्रममा सहभागी तथा विभिन्न क्षेत्रबाट शुभकामना व्यक्त गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार