चाडपर्वअघि भोजपुरकाे चखेवा–बाँझे दिक्तेल सडक मर्मत गर्न उपप्रमुख शेर्पाकाेे आग्रह


भोजपुर । चाडपर्व नजिकिएसँगै भोजपुरकाे चखेवा देखि बाँझे दिक्तेल सडक खण्डको जीर्ण सडक तत्काल मर्मतसम्भार गर्न माग गरिएको छ । पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत बाँझे–चखेवासम्मको करिब १० किलोमिटर सडक लामो समयदेखि जीर्ण रहेकाले चाडपर्वअघि नै मर्मत गर्न भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले माग गर्नुभएको हो ।

उपप्रमुख शेर्पाले असोज १ गते पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, काठमाडौँका निर्देशकलाई पत्र पठाउँदै सडक मर्मतका लागि तत्काल पहल गर्न आग्रह गर्नुभएको छ । सडक निर्माणका लागि बोलपत्र प्रक्रिया अघि बढिसकेको भए पनि निर्माण कार्य सुरु हुन केही समय लाग्ने भएकाले त्यस अवधिसम्म सडकलाई सञ्चालनयोग्य बनाउन तत्काल मर्मतसम्भार आवश्यक रहेको पत्रमा उल्लेख छ ।

सडक जीर्ण हुँदा विभिन्न स्थानमा खाल्डाखुल्डी हुनुका साथै सवारीसाधन सञ्चालनमा समस्या हुँदै आएको छ । सडकको अवस्थाका कारण यात्रु तथा सवारी चालकले जोखिम र असहजता बेहोर्नुपरेको जनाइएको छ ।

दशैँ, तिहारलगायतका चाडपर्वमा जिल्ला बाहिर रहेका नागरिक घर फर्किने तथा यात्रुको आवागमन बढ्ने भएकाले सडकको अवस्था थप चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सडकलाई सहज रूपमा सञ्चालन गर्न तत्काल आवश्यक मर्मत गर्नुपर्ने माग गरिएको हो ।

राजमार्ग निर्देशनालयले चखेवासम्मको सडक निर्माणका लागि बोलपत्रसम्बन्धी प्रक्रिया अघि बढाइसकेको छ । निर्माणको दीर्घकालीन काम अघि बढिरहेका अवस्थामा पनि निर्माण सुरु नहुँदासम्म यात्रुले भोग्नुपर्ने समस्या समाधान गर्न खाल्डाखुल्डी पुर्ने, सडक सम्याउने तथा जोखिमयुक्त स्थानमा आवश्यक मर्मत गर्न उपप्रमुख शेर्पाले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार