भोजपुरका मासु पसलको छड्के अनुगमन: १७ किलो सडेको माछा नष्ट


युवराज विष्ट
भोजपुर, ४ असोज ।
ठूला चाडबाड नजिकिँदै गर्दा भोजपुर बजारमा मासु तथा माछा पसलहरूको छड्के अनुगमन गरिएको छ। उपभोक्तालाई स्वच्छ र गुणस्तरीय वस्तु उपलब्ध गराउने उद्देश्यका साथ स्थानीय प्रशासन तथा सरोकारवाला निकायको संयुक्त टोलीले बजारका विभिन्न १० वटा मासु पसलमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा मापदण्डविपरीत अस्वस्थकर मासु बिक्रीका लागि राखिएको भेटिएपछि अनुगमन टोलीले कडा कदम चालेको छ। बजारस्थित ‘दाजूभाई माछा पसल’मा सडेको र गन्ध आइसकेको अवस्थामा भेटिएको १७ किलो ४४५ ग्राम माछा जफत गरी तत्काल नष्ट गरिएको छ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालका अनुसार चाडबाडको समयमा माग बढ्ने भएकाले अस्वस्थकर माछा÷मासु बिक्री हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर अनुगमन गरिएको हो। “उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई छैन”उहाँले भन्नुभयो,“ छड्न अनुगमनका क्रममा भेटिएका अस्वस्थकर वस्तुहरूलाई स्थलगत रूपमै नष्ट गरेका छौँ । त्योसँगै पसलहरुलाई आवश्यक सुझावसमेत दिएका छौँ ।”


अनुगमन टोलीमा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा. देवकुमार दर्लामीसहितको प्राविधिक तथा विज्ञ समूहको सहभागिता रहेको थियो। बजार अनुगमनका क्रममा डा.दर्लामीले अघिल्ला अनुगमनहरूमा दिइएका सुझावका आधारमा केही मासु व्यवसायीहरूले सरसफाइ र गुणस्तरमा सुधार गरेको पाइएको बताउनुभयो। यद्यपि, अझै पनि केही पसलहरूमा दर्ता नवीकरण, पसलको सरसफाइ र मूल्यसूची टाँस जस्ता विषयमा कमीकमजोरी देखिएकाले सुधार गर्न कडा निर्देशन दिइएको छ।
चाडबाडको मौका छोपेर सर्वसाधारणलाई अस्वस्थकर खाद्यवस्तु बिक्री गर्ने, कालोबजारी गर्ने वा तोकिएको भन्दा बढी मूल्य लिने जस्ता गतिविधि रोक्न बजार अनुगमनलाई आगामी दिनमा अझ तीव्र र निरन्तर बनाइने अनुगमन टोलीले जनाएको छ। साथै, खरिद गर्दा ताजा र गुणस्तरीय वस्तु मात्र रोज्न र शंकास्पद देखिएमा सम्बन्धित निकायमा खबर गर्न उपभोक्ताहरूलाईसमेत आग्रह गरिएको छ।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरको आयोजना गरिएको छड्ने अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर नगरपालिका पशु सेवा शाखा तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
तस्बिर पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार