
युवराज विष्ट
भोजपुर, २८ असोज ।
विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रसेवाको भावना विकास गर्ने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै गएको छ । तालिमले विद्यार्थीलाई शारीरिक तथा मानसिक रूपमा सक्षम बनाउनुका साथै सामूहिक कार्य, जिम्मेवारीबोध र राष्ट्रप्रतिको समर्पण विकास गर्न सहयोग पु¥याएको हो ।
विद्यालय तहदेखि नै युवालाई जिम्मेवार, अनुशासित र राष्ट्रप्रति समर्पित बनाउदै राष्ट्रिय एकता र सैनिक–नागरिक सम्बन्ध सुदृढ बनाउन तालिमले सहयोग गर्दै आएको छ । विद्यालयस्तरमा तीनमहिने तालिमअन्तर्गत भोजपुरको अरुण गाउँपालिकास्थित कटका माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेको छ । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, मोरङमा असोज ८ देखि २८ गतेसम्म सञ्चालन भएको ५२औँ जुनियर डिभिजन पहिलो चरणको वार्षिक सामूहिक क्याम्पमा कटका माध्यमिक विद्यालय प्रथम भएको छ । भलिबललगायत विभिन्न विद्यामा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले प्रथम स्थान प्राप्त गरेको हो ।

यस वर्षको विद्यालयस्तरीय तालिम असार १ गतेदेखि असोज १ गतेसम्म सञ्चालन गरिएको थियो । विद्यालयस्तरमा तालिम सम्पन्न भएपछि आयोजित वार्षिक सामूहिक क्याम्पमा विभिन्न जिल्लाका १८ विद्यालयका ५३५ विद्यार्थी सहभागी भएका थिए । क्याम्पमा विद्यार्थीले विभिन्न प्रतियोगिता तथा अभ्यासमा सहभागी हुँदै आफ्नो शारीरिक क्षमता, अनुशासन, सहकार्य र नेतृत्व कौशल प्रदर्शन गरेका थिए ।
राष्ट्रिय सेवा दल तालिममार्फत युवामा राष्ट्रप्रेम, राष्ट्रिय एकता र राष्ट्रिय सेवाको भावना अभिवृद्धि, सैनिक जीवनशैली, आधारभूत सैनिक ज्ञान तथा सीपबारे जानकारी गराउने उद्देश्य रहेको सेनाले जनाएको छ । यसबाट विद्यार्थीमा आत्मविश्वास, स्वावलम्बन, धैर्य र सामूहिक रूपमा काम गर्ने क्षमताको विकास हुनुका साथै प्रतिकूल परिस्थितिमासमेत जिम्मेवारीपूर्वक काम गर्न सक्ने क्षमता अभिवृद्धि हुने जनाइएको छ ।
तालिमले विपद्का समयमा उद्धार तथा मानवीय सेवामा योगदान गर्न सक्ने जनशक्ति तयार पार्न र युवालाई राष्ट्र निर्माण तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धनमा जिम्मेवार भूमिका निर्वाह गर्न अभिप्रेरित गर्ने लक्ष्यसमेत राखिएको छ । सैनिक अनुशासन र नागरिक जीवनबीचको सम्बन्धलाई नजिक बनाउँदै युवामा देशप्रतिको कर्तव्यबोध विकास गर्नु यसको अर्को महत्वपूर्ण पक्ष हो ।

कार्यक्रम समापनका अवसरमा तालिम सञ्चालन तथा व्यवस्थापनमा योगदान पु¥याएको भन्दै श्री नयाँ श्रीनाथ गणका गणपति प्रमुख सेनानी मनोज ढुङ्गेललाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै, कटका माध्यमिक विद्यालयका प्रशिक्षकलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।विद्यालयस्तरमा सञ्चालन हुने राष्ट्रिय सेवा दल तालिमले विद्यार्थीको व्यक्तित्व विकास, अनुशासन र नेतृत्व क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको विद्यालयले जनाएको छ ।

























