
युवराज विष्ट
भोजपुर, ३० असोज ।
ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्न थालेको छ । गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण सुरु गरिएको हो । पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा ५०० वटा विद्युतिय चुलो वितरण गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले यसअघि आवेदन दिएका स्थानीयलाई बुधबारदेखी चुलो वितरण भइरहेको बताउनुभयो । स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्दै ग्रामीण क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिमा आधारित खाना पकाउने सुविधासँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

परम्परागत रूपमा दाउरा तथा ग्यास प्रयोग गर्दै आएका स्थानीयलाई विद्युतीय चुलोको प्रयोगतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । विद्युतीय चुलोको प्रयोगले आयातित खाना पकाउने ग्यासको खपत घटाउनुका साथै दाउराको प्रयोग न्यूनीकरणसँगै खाना पकाउने समय बचत गर्न मद्दत पुग्ने उहाँको भनाइ छ ।
विद्युतीय चुलोको प्रयोगले भान्सामा दाउरा बाल्दा उत्पन्न हुने धुवाँजन्य प्रदूषण कम गर्न सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । यसबाट घरभित्रको वायु प्रदूषण घट्नुका साथै खाना पकाउने कामलाई सहज, सफा र सुविधाजनक बनाउन मद्दत पुग्ने उहाँको भनाइ छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको मापदण्डअनुसार घरमा १५ एम्पियर क्षमताको एमसीबी जडान भएका परिवारलाई मात्रै चुलो वितरण गरिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ । सोही मापदण्डका आधारमा आवेदन दिएका स्थानीयलाई चुलो वितरण भइरहेको गाउँपालिकाको भनाइ छ ।
ग्रामीण क्षेत्रमा विद्युत् सेवाको पहुँच विस्तार भएसँगै विद्युतीय उपकरणको प्रयोग बढाउदै स्वच्छ ऊर्जाको प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले सहयोग पु¥याउने गाउँपालिकाको भनाइ छ ।
























