
युवराज विष्ट
भोजपुर, ३० असोज
भोजपुरको अरुण गाउँपालिकाले भौगोलिक विकटताका कारण गाउँपालिका केन्द्रसम्म पुग्न नसक्ने अशक्त तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले वडास्तरमा वितरण शिविर सञ्चालन गर्दै सेवा लिन कठिनाइ हुने नागरिकलाई घरमै भत्ता उपलब्ध गराएको हो ।
ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई सहज रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो । भत्ता लिनकै लागि टाढाको दूरी पार गरेर गाउँपालिका केन्द्रसम्म आउनुपर्ने बाध्यता हटाउँदै स्थानीयस्तरबाटै सेवा प्रदान गरिएको उहाँको भनाइ छ ।
घरमै सामाजिक सुरक्षा भत्ता पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन् । अरुण गाउँपालिका–७ सिक्रेटारकी ९३ वर्षीया मनोरत्न राईले आफू वडासम्म पुग्न नसक्ने अवस्थामा घरमै आएर भत्ता उपलब्ध गराउँदा सहज भएको बताउनुभयो । विशेषगरी चाडपर्वको समयमा घरमै भत्ता बुझ्न पाउँदा आवश्यक खर्च व्यवस्थापन गर्नसमेत सहज भएको उहाँले जानकारी दिनुभयो ।
वडास्तरमा शिविर सञ्चालन गरेर भत्ता वितरण गरिए पनि वडासम्म आउन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा प्रदान गरिएको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो वडामा ६२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएकामा १५ जनालाई घरमै पुगेर भत्ता उपलब्ध गराइएको हो । शारीरिक अशक्तता र उमेरका कारण हिँडडुल गर्न कठिनाइ हुने नागरिकलाई लक्षित गरेर घरमै पुग्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

अरुण गाउँपालिकाको आयोजना तथा प्रभु बैंक प्याउलीको समन्वयमा वडास्तरमा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाका सातवटै वडामा शिविर सञ्चालन गरिएको गाउँपालिकाको पञ्जीकरण शाखाका चिन्तामणि पोखरेलले जानकारी दिनुभयो । गाउँपाािलकाको ‘घुम्ति शिविरमार्फत वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता’ वितरण कार्यक्रममार्फत ९३५ जनालाई घरपायकमा सेवा दिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा न. १ मा ९२ जना, वडा नं. २ मा २०० जना, वडा नं. ३ मा १५५ जना, वडा नं.४ मा १५८ जना, वडा नं.५ मा ९८ जना, वडा नं. ६ मा १७० र वडा नं. ७ मा ६२ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाले वडास्तरबाटै भत्ता वितरण गर्दै आवश्यकताअनुसार घरमै पुगेर सेवा दिने व्यवस्था मिलाएपछि ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि हुने यात्राको झन्झट र सास्ती कम भएको छ । यसबाट भौगोलिक रूपमा विकट बस्तीमा बसोबास गर्ने नागरिकलाई सामाजिक सुरक्षा सेवाको पहुँचमा ल्याउन सहयोग पुगेको छ ।

























