दशैँ भित्रिएसँगै भोजपुरका बजारमा चहलपहल बढ्यो


भोजपुर, २८ असोज ।
दशैँ नजिकिएसँगै भोजपुर सदरमुकामसहित जिल्लाका विभिन्न बजारमा चहलपहल बढेको छ । दशैँका लागि आवश्यक सामग्री खरिद गर्न गाउँगाउँबाट सर्वसाधारण बजार आउन थालेपछि बजारमा भीड बढ्नुका साथै व्यापारिक गतिविधिसमेत बढेका छन् ।
दशैँ मनाउन आवश्यक पर्ने लत्ताकपडा, जुत्ता, खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्न ग्रामीण क्षेत्रबाट सर्वसाधारण सदरमुकाम आउन थालेका हुन् । लामो समयदेखि रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा जिल्ला बाहिर रहेका मानिससमेत चाडपर्व मनाउन घर फर्कन थालेपछि बजार र यातायातमा चहलपहल बढेको छ ।
यात्रुको चाप बढेसँगै जिल्लाका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । चाडपर्वका समयमा यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन तथा हुनसक्ने समस्यामा सहजीकरण गर्न सहायता कक्ष सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
बजारमा चहलपहल बढेसँगै व्यापारीलाई पनि भ्याइनभ्याइ भएको छ । दशैँलाई लक्षित गरी पसलमा नयाँ सामान राख्ने, पसल सजाउने तथा ग्राहक आकर्षित गर्ने तयारी गरिएको छ । खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पललगायतका सामग्री खरिद गर्ने ग्राहकको चाप बढ्न थालेको व्यापारीले बताएका छन् ।
दशैँ मनाउन घर फर्कनेको सङ्ख्या बढेसँगै सार्वजनिक यातायातमा समेत यात्रुको चाप बढेको छ । भोजपुर सदरमुकामसँगै टक्सार, दिङ्ला तथा हतुवागढीलगायतका स्थानीय बजारमा पनि चहलपहल बढेको छ । दशैँको तयारीस्वरूप घरआँगन सफा गर्ने, पिङ बनाउर्ने क्रम बढेसँगै गाउँबस्तीमा समेत चाडपर्वको रौनक बढेको छ ।
तस्बिर पनि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार