
गणेश विष्ट
भोजपुर, ९ असार ।
पौवादुङमा गाउँपालिकाको १९औँ गाउँसभाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमार्फत आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने कुल ४५ करोड ४४ लाख ३२ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट पेश गरिएको छ ।
गाउँसभा समक्ष गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले चालु तथा पुँजीगततर्फको समग्र बजेट प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकता क्षेत्रहरू स्पष्ट पार्नुभयो । प्रस्तुत बजेटमा विशेषगरी आर्थिक विकासतर्फ कृषि र पशुपालन कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ ।
गाउँपालिकाले महिला सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ मार्फत आयआर्जनमूलक योजना अघि सारेको छ । यस अन्तर्गत ६ वटै वडामा ५० प्रतिशत लागत साझेदारीमा प्रत्येक टोलमा कम्तीमा दुई वटा कुटानी–पिसानी मिल स्थापना गरिनेछ भने पालिकाभर कम्तीमा दुई स्थानमा व्यावसायिक उद्यम केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ ।
त्यसैगरी, फुसको छानो हटाउने कार्यक्रमलाई निरन्तरता दिइएको छ भने गौरवको योजनाका रूपमा रहेको पञ्चकन्या कृषि सडक कालोपत्रे कार्यलाई पनि यस वर्ष प्राथमिकतासहित अघि बढाइने भएको छ ।

गाउँपालिकाले बाँदर बन्ध्याकरण कार्यक्रममार्फत किसानको बाली संरक्षण गर्ने, ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादन प्रवर्द्धन गर्ने तथा ‘पौवादुङमा रोजगार कार्यक्रम’ मार्फत रोजगारी सिर्जना गर्ने योजना अघि सारेको छ । साथै, तिवारी भञ्ज्याङ कोशेली घर निर्माण, इसीडीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई विद्यालय पोशाक वितरण, जेष्ठ नागरिक सम्मानलगायत सामाजिक तथा शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गरिने भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईका अनुसार स्थानीयको आवश्यकता र प्राथमिकताका आधारमा बजेट, नीति तथा कार्यक्रम तयार गरिएको हो । उहाँले हालसम्म चालु र पुँजीगत गरी करिब ६० प्रतिशत बजेट खर्च भइसकेको जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष किरण राईले सीमित स्रोतसाधनबीच पनि जनअपेक्षाअनुसारका कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । “उपलब्ध बजेटको अधिकतम सदुपयोग गर्दै जनताको आवश्यकता पूरा गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याएका छौँ,” अध्यक्ष राईले भन्नुभयो । गाउँसभाको अर्को बैठक असार २८ गते बस्ने गरी पहिलो बैठक सम्पन्न भएको छ






















