वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सकृय बन्दै ‘सामी’ कार्यक्रम ः यस्ता छन् – यो वर्ष सञ्चालित कार्यक्रम


युवराज विष्ट, भोजपुर, ८असार ।
भोजपुरमा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सञ्चालनमा रहेको ‘सुरक्षित आप्रवासन (सामी) कार्यक्रम’ प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको छ। स्थानीय तहसँगको सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले वैदेशिक रोजगारमा जाने नागरिकलाई आवश्यक सूचना, सीप र परामर्श प्रदान गर्दै आएको हो।


सामीले नेपाल सरकार र स्वीस सरकारको वीचको द्वीपक्षिय सम्झौताबाट तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र भोजपुरका ९ वटै स्थानीय तहहरुको लागत साझेदारीमा सञ्चालन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


कार्यक्रमले विशेषगरी पाँच मुख्य कम्पोनेन्टमार्फत काम गर्दै आएको छ। जसअन्तर्गत पहिलो, सुरक्षित वैदेशिक रोजगारसम्बन्धी सूचना तथा परामर्श सेवा प्रदान गर्दै श्रमिकलाई सही प्रक्रिया, कानुनी प्रावधान, श्रम स्वीकृति, बीमा, स्वास्थ्य परीक्षण तथा गन्तव्य देशबारे जानकारी दिने गरिएको छ।


दोस्रो, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श मार्फत वैदेशिक रोजगारीमा जाने तथा फर्किएका श्रमिकलाई आम्दानी व्यवस्थापन, बचत, लगानी, ऋण व्यवस्थापन लगायतका विषयमा सचेतना दिइनुका साथै मानसिक स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरिन्छ।

वित्तिय साक्षरता कक्षाको अवलोकन गर्दै भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु शाह ।

तेस्रो, सीप विकास तथा अभिमुखीकरण कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारमा जानुअघि आवश्यक आधारभूत सीप, भाषा तथा व्यवहारिक ज्ञान प्रदान गरिँदै आएको छ, जसले श्रमिकलाई गन्तव्य मुलुकमा काम गर्न सहज बनाउँछ।


चौथो, फर्किएका आप्रवासी श्रमिकको पुनःएकीकरणका लागि उद्यमशीलता विकास, स्वरोजगार प्रवद्र्धन तथा सीपमूलक तालिम सञ्चालन गरिँदै आएको छ । जसले उनीहरूलाई स्वदेशमै आयआर्जन गर्न सहयोग पु¥याउँछ।


पाँचौं, न्यायमा सहजीकरण तथा सामुदायिक सचेतना कार्यक्रम अन्तर्गत मानव बेचबिखन, ठगी तथा जोखिमपूर्ण रोजगारीबाट जोगिन समुदायस्तरमै सचेतना अभियान सञ्चालन गरिँदै आएको छ। साथै सरोकारवाला निकायबीच समन्वय गरी सेवाहरू प्रभावकारी बनाइँदै आएको छ।


सामी कार्यक्रममार्फत समुदायस्तरमै सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । जहाँबाट वैदेशिक रोजगारसम्बन्धी समस्या, गुनासा तथा जानकारी लिन सकिने व्यवस्था गरिएको छ। यसले ठगी, मानव बेचबिखन तथा जोखिमपूर्ण रोजगारीबाट जोगिन सहयोग पु¥याएको सरोकारवालाले बताएका छन्।

यो वर्ष भएका कार्यक्रमहरु ः

पौवादुङमा गाउँपालिका १ श्यामशिलाको वडा कार्यालयमा गरिएको अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम ।
भोजपुर नगरपालिकामा जनप्रतिनिधिसँग गरिएको कार्यक्रम ।
सुरक्षित वैदेशिक रोजगार सम्वन्धि जिल्ला प्रशासन कार्यालयमा गरिएको बैठक ।
आमचोक गाउँपालिका जनप्रतिनिधिसँग गरिएको कार्यक्रम ।
रामप्रसादराई गाउँपालिकामा शाखा प्रमुखसँग गरिएको कार्यक्रमको तस्बिर ।
सुरक्षित वैदेशिक रोजगार सम्बन्धि प्रहरीसँग गरिएको कार्यक्रमको तस्बिर ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार