बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति : पौवादुङमाले ल्यायो बाँदर बन्ध्याकरण कार्यक्रम


युवराज विष्ट
भोजपुर, ९ असार।
भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानले लामो समयदेखि भोग्दै आएको बाँदर आतंक नियन्त्रण गर्न नयाँ रणनीति अघि सारेको छ । बाली नष्ट हुने, उत्पादनमा गिरावट आउने र किसानको श्रम खेर जाने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले बाँदर बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।


पछिल्लो समय गाउँपालिकाका विभिन्न वडामा बाँदरको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । विशेष गरी मकै, कोदो, आलुलगायतका बालीमा बाँदरले ठूलो क्षति पु¥याउँदै आएका छन् । यसले किसानहरूलाई आर्थिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि प्रभावित बनाएको स्थानीयहरूको गुनासो छ ।
संघीय सरकारले बाँदर नियन्त्रणसम्बन्धी कार्यविधि तयार गरिरहेकोले पौवादुङमाले पनि त्यससँग समन्वय गर्दै कार्यक्रम अघि बढाउने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । जसका लागि गाउँपालिकाले रु. ५ लाख बजेटसमेत विनियोजन गरेको उहाँले बताउनुभयो ।
बाँदर किसानको मुख्य समस्या रहेकाले गाउँपालिकाले बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । बाँदर समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले गाउँपालिकाले बन्ध्याकरण कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटेको उहाँको भनाइ छ ।
गाउँपालिकाको मंगलबारबाट शुरु भएको गाउँसभाको १९ औँ अधिवेसनमार्फत कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरेको हो । आर्थिक वर्ष २०८३÷८४ को बजेट तथा कार्यक्रममा बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने योजना समावेश गरिएको अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।
“बाँदर किसानको जटिल समस्या बनेको छ”अध्यक्ष राईलेभन्नुभयो,“बाँदर नियन्त्रणको लागि बन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेको छौँ । संघीय सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ । ”
गाउँपालिकाका अनुसार, बन्ध्याकरण विधिमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ । यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ । यसले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । ।
यस कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएमा किसानको बाली संरक्षणमा ठोस सुधार आउने, कृषि उत्पादन वृद्धि हुने र ग्रामीण अर्थतन्त्र सुदृढ बन्ने गाउँपालिकाले जनाएको छ । बाँदर नियन्त्रणको दीर्घकालीन उपायका रूपमा यो कार्यक्रम लागू गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार