
भोजपुर १० असार । षडानन्द नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामार्फत आर्थिक वर्ष २०८३ /८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ भने कुल ९१ करोड ८ लाख ४८ हजार ६ सय ७३ रुपैयाँ बराबरको बजेट पारित गरिएको छ।
नगरसभामा नगर प्रमुख सुरेन्द्र कुमार उदासले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख प्रमिला राईले बजेट प्रस्तुत गर्नुभएको थियो। नगरसभाले प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि छलफल गर्दै सर्वसम्मत रूपमा पारित गरेको हो।

उपप्रमुख राईले प्रस्तुत गर्नुभएको बजेटअनुसार चालुतर्फ ५८ करोड २२ लाख ५१ हजार ६ सय रुपैयाँ, पुँजीगततर्फ १८ करोड ८५ लाख ९७ हजार ७३ रुपैयाँ तथा सामाजिक सुरक्षातर्फ १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा सेवा प्रवाह सुधार, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारका क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ।
नगरसभाबाट विभिन्न विषयगत शाखा तथा कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ। शिक्षा तथा खेलकुद विकास शाखाका लागि ३२ लाख ७५ हजार रुपैयाँ, कृषि विकास शाखाका लागि ३० लाख रुपैयाँ, स्वास्थ्य शाखाका लागि २६ लाख रुपैयाँ, भौतिक पूर्वाधारतर्फ २१ लाख रुपैयाँ तथा सामाजिक विकास शाखाका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै सूचना प्रविधि शाखाका लागि ६ लाख रुपैयाँ, योजना शाखाका लागि ३ लाख रुपैयाँ तथा रोजगार सेवा केन्द्रका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षको मुख्य प्राथमिकताका रूपमा सेवा प्रवाह सुधारलाई अघि सारेको छ। यसका लागि नगरसभाले ‘दिनमा होइन, छिनमै सेवा’ भन्ने नीति पारित गरेको छ। उक्त नीतिमार्फत नगरवासीलाई छिटो, सहज तथा गुणस्तरीय सेवा प्रदान गर्दै प्रशासनिक प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।
नीति तथा कार्यक्रममा सुशासन प्रवर्द्धन, सूचना प्रविधिको प्रयोग विस्तार, कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तथा स्थानीय आर्थिक विकासलाई विशेष प्राथमिकता दिइएको छ। नगरपालिकाले स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास र समृद्ध नगर निर्माणको लक्ष्य लिएको जनाएको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सुरेन्द्र कुमार उदासले जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो। सीमित स्रोतसाधनका बाबजुद नागरिकले प्रत्यक्ष अनुभूति गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो।
सभाबाट पारित बजेट तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउनुका साथै सेवा प्रवाहमा सुधार ल्याउने अपेक्षा गरिएको छ।
नगरपालिकाले पारित गरेको बजेट तथा नीतिले पूर्वाधार विकास, सामाजिक क्षेत्रको सुदृढीकरण, कृषि प्रवर्द्धन तथा सुशासनमार्फत नगरवासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।





















