अरुण गाउँपालिकाको १६औँ गाउँसभा सम्पन्न, ४८ करोड १० लाख बढीको बजेट पारित


भोजपुर १० असार ।
अरुण गाउँपालिकाको १६औँ गाउँसभाको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४८ करोड १० लाख ७ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम तथा आवश्यक विधेयकहरू पारित गरेको हो।

गाउँसभामा गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। यस्तै, उपाध्यक्ष विनिता ढकालले बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटमाथि छलफलपछि गाउँसभाले सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।

पारित बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि तथा आर्थिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। स्थानीय तहको समग्र विकास, आर्थिक समृद्धि र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम तर्जुमा गरिएको उल्लेख गरिएको छ।

गाउँसभाले आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ समेत पारित गरेको छ। आगामी आर्थिक वर्षका लागि स्वीकृत बजेटमार्फत विकास निर्माणका कार्यलाई थप गति दिने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने लक्ष्य लिइएको छ।

यसैबीच, गाउँपालिकाभित्र आर्थिक पारदर्शिता, सुशासन तथा वित्तीय अनुशासनलाई थप सुदृढ बनाउन गाउँसभाबाट सार्वजनिक लेखा समिति गठन गरिएको छ। साथै, बेरुजु व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले बेरुजु सम्परीक्षण नियमित गर्नेसम्बन्धी प्रतिवेदन समेत पारित गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीका अनुसार गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटले आगामी आर्थिक वर्षमा विकास निर्माण, सेवा प्रवाह तथा सुशासनका क्षेत्रमा सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार