
भोजपुर, २१ जेठ ।
प्रगतिशील अपाङ्गता सञ्जाल, अरुण गाउँपालिकाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सशक्तीकरणका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।
अधिवेशनले बलबहादुर दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सावित्रा दाहाल, सचिवमा लक्ष्मीप्रसाद अधिकारी र कोषाध्यक्षमा धर्मकुमारी ढकाल निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा रेनुका पहाडी, भीमबहादुर लामा, राजीव ढकाल, अशोक तामाङ र टंकमान श्रेष्ठ चयन हुनुभएको छ। नव–निर्वाचित कार्यसमितिले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार, अधिकार सुनिश्चितता र आयआर्जनका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अभिवृद्धि, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका थिए। साथै स्थानीय तहसँग समन्वय गर्दै विभिन्न सीपमूलक तथा आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रमका अवसरमा सञ्जालका आजीवन सदस्यहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा वक्ताहरूले सञ्जालको आगामी कार्यदिशा अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।
सञ्जालका सचिव लक्ष्मीप्रसाद अधिकारीका अनुसार संघले विगतदेखि नै अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विभिन्न सचेतनामूलक तथा सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।




















