
युवराज विष्ट
भोजपुर, १५ असार ।
विद्यार्थीलाई पठनपाठनमा थप प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट अंक ल्याउने १६ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। गाउँपालिकाले सञ्चालन गर्दै आएको ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो।
कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८, १० (एसइई) र १२ का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो।
उहाँका अनुसार कक्षा १२ मा उत्कृष्ट हुने प्रथम, द्वितीय र तृतीय विद्यार्थीलाई क्रमशः रु १० हजार, ८ हजार र ५ हजार प्रदान गरिएको छ। यस्तै माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई क्रमशः रु २० हजार, १६ हजार प्रदान गरिएको छ भने दुई विद्यालयका समान अंक ल्याउने विद्यार्थीलाई जनही रु १२ हजारका दरले पुरस्कार प्रदान गरिएको छ।
त्यसैगरी कक्षा ८ मा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः रु १४ हजार, ११ हजार र ८ हजार, कक्षा ५ मा उत्कृष्ट हुनेलाई रु ११ हजार, ८ हजार र ५ हजार तथा कक्षा ३ मा उत्कृष्ट हुनेलाई क्रमशः रु ८ हजार, ६ हजार र ४ हजार प्रदान गरिएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष किरण राईले आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। उहाँले यस्तो कार्यक्रमले विद्यार्थीलाई नियमित विद्यालय उपस्थित हुन र अझ राम्रो नतिजा हासिल गर्न प्रेरणा मिल्ने उल्लेख गर्नुभयो।
“गाउँपालिकाले विद्यालय तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ,” अध्यक्ष राईले भन्नुभयो, “यसले शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पारेको छ। हामीले हरेक वर्ष यस्ता प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिएका छौँ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो। उहाँका अनुसार खस्कँदो शैक्षिक स्तर उकास्न गाउँपालिकाले दीर्घकालीन रणनीतिअनुसार काम अघि बढाइरहेको छ।

तस्बिर पनि छ ।





















