
युवराज विष्ट
भोजपुर, ५ जेठ ।
भोजपुरको हतुवागढी गाउँपालिकामा करसम्बन्धी सेवा औपचारिक रूपमा शुरुवात गरिएको छ। जिल्ला करदाता सेवा कार्यालय हटेपछि स्थानीय नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सोमबारबाट आन्तरिक राजस्व कार्यालय धरानसँगको सहकार्यमा सेवा सुरु गरेको हो।
नेपाल सरकारको २०८२÷०७÷१७ को निर्णयअनुसार साविक करदाता सेवा कार्यालय,भोजपुरबाट प्रदान हुँदै आएका केही सेवाहरू अब स्थानीय तहबाटै उपलब्ध गराउन सेवा सुचारु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो ।
गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिलाई व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्नेछ भने स्थानीय तहमा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यवसायिक स्थायी लेखा नम्बर उपलब्ध उहाँले जानकारी दिनुभयो ।

यस्तै, मूल्य अभिवृद्धि कर दर्ताका लागि आवश्यक कागजात संकलन गरी सम्बन्धित कार्यालयमा सिफारिस गर्ने, अन्तःशुल्क इजाजतपत्रसम्बन्धी प्रक्रिया सहजीकरण गर्ने, कर चुक्ता प्रमाणपत्रका लागि सिफारिस गर्ने लगायतका सेवासमेत गाउँपालिकाबाटै प्रदान गरिने जनाइएको छ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकका लागि करसम्बन्धी प्रक्रिया सरल र पहुँचयोग्य बनाउने लक्ष्यसहित सेवा सुरु गरिएको बताउनुभयो ।
करदाता दर्ता विवरण संशोधन, करसम्बन्धी शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमासमेत गाउँपालिकाले सहकार्य गर्नेछ। यसबाट स्थानीय करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी कानुनी प्रक्रिया बुझ्न थप सहज हुने जनाइएको छ ।



















