रोजगार सिर्जनासँगै ग्रामीण सडक स्तरोन्नतिमा तीव्रता दिँदै पौवादुङमा


युवराज विष्ट
भोजपुर, ४ असार।
भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै राष्ट्रिय रोजगार कार्यक्रममार्फत काम अघि बढाएको छ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै विकास निर्माणका कामलाई तीव्रता दिने उद्देश्यसहित गाउँपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन भइरहेको हो।
गाउँपालिका रोजगार शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार कार्यक्रमका लागि संघीय सरकार रु. ३१ लाख ७२ हजार र गाउँपालिकाबाट ३१ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसबाहेक कामदारका लागि आवश्यक औजार उपकरण, सुरक्षा सामग्री खरिद तथा ढुवानी व्यवस्थापन गर्न गाउँपालिकाले थप १८ लाख रुपैयाँ लगानी गरेको छ।

कार्यक्रममार्फत गाउँपालिकाका सबै छ वडामा गरी ८५ जना स्थानीय नागरिकलाई १०० दिनसम्म रोजगारी प्रदान गरिएको छ। विशेषगरी रोजगारीको अभाव झेलिरहेका विपन्न तथा श्रमिक वर्गलाई लक्षित गरी काम दिइएको संयोजक खड्काले जानकारी दिनुभयो।
“स्थानीयलाई आफ्नै ठाउँमा काम गर्ने अवसर सिर्जना गर्दै विकास निर्माणलाई गति दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो। यसरी काम गर्नेलाई दैनिक रु.७५४ प्रदान गरिने गरेको गाउँपालिकाले जनाएको छ ।
हालसम्म २५ किलोमिटर नाली निर्माण, पाँच किलोमिटर सडक सोलिङ, २० किलोमिटर क्षेत्रमा झाडी फाँड्ने तथा सरसफाइ गर्ने काम सम्पन्न भएको छ। यसैगरी एक सय मिटर सिँढीसहितको पैदलमार्ग निर्माण गरिँदा दुर्गम बस्तीका नागरिकलाई आवतजावतमा सहजता पुगेको छ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले कार्यक्रमले स्थानीय नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष टेवा पु¥याउनुका साथै श्रममा आधारित विकासको अवधारणालाई व्यवहारमा उतार्न सहयोग पुगेको बताउनुभयो। यो कार्यक्रमले गाउँमै रोजगारको अवसर सिर्जना गर्ने वातावरण बनाएको उहाँले बताउनुभयो ।


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले सडक पूर्वाधारलाई वर्षैभरि सञ्चालनयोग्य बनाउने लक्ष्यसहित स्तरोन्नतिमा जोड दिइएको स्पष्ट पार्नुभयो। “पहिले वर्षायाममा अवरुद्ध हुने सडक अहिले क्रमशः सुधार हुँदै गएका छन्,” उहाँले भन्नुभयो, “स्थानीय श्रम प्रयोग गरेर निर्माण गरिँदा लागत पनि कम भएको छ । स्थानीयमा स्वामित्व भावना पनि बढेको छ।”
गाउँपालिका अध्यक्ष किरण राईले जनसहभागितामूलक विकासलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रममार्फत स्थानीयलाई प्रत्यक्ष रूपमा लाभान्वित गराउने नीति लिइएको बताउनुभयो। “हामी विकासलाई रोजगारीसँग जोडेर अघि बढिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो, “यसले दिगो विकासका लागि आधार तयार गरिरहेको छ।”
स्थानीयबासी ध्रुव राईले स्थानीयलाई आफ्नै ठाउँमा रोजगार बनेर केहि आयआर्जन गर्ने अवसर मिलेको उहाँले बताउनुभयो । सडक स्तरोन्नतिसँगै दैनिक आवतजावत, कृषि उपज ढुवानी र सेवा प्रवाहमा सहजता भएको उहाँको भनाइ छ ।
गाउँपालिकाले आगामी दिनमासमेत यस्ता श्रममुखी तथा जनसहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिँदै ग्रामीण पूर्वाधारलाई थप सुदृढ बनाउने योजना बनाएको जनाएको छ। सडक सञ्जाललाई गुणस्तरीय र दिगो बनाउँदै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाइएको गाउँपालिकाको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार