वातावरण जोगाउने अभियानः भोजपुरमा सगरमाथा वृक्षरोपण सुरु


युवराज विष्ट
भोजपुर, १४ असार ।
राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर भोजपुरमा सगरमाथा वृक्षरोपण महाअभियान सुरु गरिएको छ। आइतबारबाट अभियानको औपचारिक थालनी गरिएको हो।
पौवादुङमा गाउँपालिका–२ तिवारीभञ्ज्याङ क्षेत्रको सडक आसपास सौन्दर्य वनस्पति रोपेर अभियान सुरु गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ।
थालनी कार्यक्रममा डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा सडक सौन्दर्य अभिवृद्धिका लागि अभियान महत्वपूर्ण हुने बताउनुभयो। उहाँले वृक्षरोपणसँगै रोपिएका विरुवाको संरक्षण, नियमित स्याहार, पानी व्यवस्थापन र घेराबारको व्यवस्था अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “विरुवा रोप्नु मात्र पर्याप्त हुँदैन”उहाँले भन्नुभयो,“ त्यसको दीगो संरक्षण र हुर्काउने जिम्मेवारी सबैको साझा दायित्व हो ।समुदायको सक्रिय सहभागिता बिना अभियान सफल हुन सक्दैन।” असार १४ गतेबाट शुरु भएको यो अभियान साउन १५ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । यो अभियानमा इच्छुक स्थानीयका लागि कार्यालयले निःशुल्क विरुवा वितरण गर्ने प्रमुख मियाले बताउनुभयो ।


पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय तह र वन कार्यालयको सहकार्यमा सञ्चालन गरिएको यो अभियानले वातावरणीय सन्तुलन कायम गर्नुका साथै क्षेत्रको सौन्दर्य बढाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले रोपिएका विरुवालाई संरक्षण गर्न स्थानीय बासिन्दा, उपभोक्ता समूह तथा सरोकारवाला सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। “हामीले रोपेका विरुवालाई दीगो रूपमा जोगाउन सक्यौं भने मात्र यसको वास्तविक प्रतिफल प्राप्त हुन्छ,” अध्यक्ष राईले भन्नुभयो,“रोपिएका विरुवाका मलजलसँगै बचाउनमा हामी सवैले ध्यान दिन आवश्यक छ ।”
यस अभियानमार्फत तिवारीभञ्ज्याङदेखि गाउँपालिकाको केन्द्र च्याङ्ग्रेसम्म सडक किनार क्षेत्रमा विभिन्न जातका करिब ३ सय सौन्दर्य वनस्पति (अर्नामेन्टल प्लान्ट) रोपिने डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार रोपिएका विरुवाको नियमित अनुगमन, संरक्षण र व्यवस्थापनका लागि आवश्यक योजनासमेत बनाइएको छ।
पौवादुङमा गाउँपालिका र डिभिजन वन कार्यालय भोजपुरको सहकार्यमा उक्त क्षेत्रमा वृक्षरोपण कार्य सञ्चालन भइरहेको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामा,प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराई, सामुदायिक वनका प्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार