४०औं विश्व पर्यटन दिवस मनाइयो


काठमाडौं, ११ असोज । विगत वर्षझैं यस वर्ष पनि शुक्रबार राजधानीलगायत मुलुकभर विविध कार्यक्रम गरी ४०औं विश्व पर्यटन दिवस मनाइएको छ । विश्व पर्यटन दिवसको अवसरमा वसन्तपुर, पाटन र भक्तपुर दरबार संरक्षण क्षेत्रमा पुग्ने पर्यटकलाई खादा लगाएर स्वागत गरिएको थियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न नाकाबाट भित्रिने पर्यटकलाई विशेष स्वागत गरिएको थियो । विश्व पर्यटन दिवसकै अवसरका सरकारले पर्यटन व्यवसायमार्फत मुलुकलाई योगदान दिएका उत्कृष्ट कम्पनीलाई पुरस्कृत गरेको थियो ।

दिवसकै अवसरका राजधानीको प्रमुख पर्यटकीय बजार ठमेलमा ठमेल पर्यटन विकास परिषद्ले विशेष कार्यक्रम आयोजना गरेको थियो । परिषद्का वरिष्ठ उपाध्यक्ष तथा मनोरञ्जन विभागका संयोजक गीता गुरुङले शुक्रबार बिहान नेपाल पर्यटन बोर्डलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा प्रभातफेरी र साँझ ठमेलमा सांस्कृतिक कार्यक्रम भएको बताइन् । उनले ठमेलको त्रिदेवीमार्गस्थित कर्मचारी सञ्चयकोष अघिबाट सुरु भएको प्रभातफेरी दरबारमार्ग, कमलादी, हात्तीसार हुँदै नारायणहिटी दरबारको पूर्वी ढोकास्थित गणतन्त्र पार्कमा पुगेर समापन भएको जानकारी दिइन् ।

परिषद्को आयोजनामा साँझ ५ बजेबाट ठमेलमा सुरु भएको सांस्कृतिक विशेष मनोरञ्जनात्मक कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गरेका थिए । सो कार्यक्रममा प्रदेश ४ का सांसद् राजीव गुरुङ, काठमाडांै महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, कामनपा–१६, १७, २६ र २७ वडाका अध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

परिषद्का वरिष्ठ उपाध्यक्ष तथा मनोरञ्जन विभागका संयोजक गुरुङले विश्व पर्यटन दिवसका दिन विभिन्न मुलुकबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई नेपालको संस्कृतिबारे थप जानकारी गराउने उद्देश्यले परिषद्ले यस्तो कार्यक्रम आयोजना गरेको बताइन् ।

साँझ साढे ५ बजेदेखि करिब १० बजेसम्म चलेको विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा संगीतकार दीपक बज्राचार्यलगायतको विशेष प्रस्तुति रहेको थियो । यसैगरी, विश्व पर्यटन दिवसका अवसरका नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, हान, पाटा नेपाल च्याप्टर, भिटोभ–नेपाललगायतका संस्थाले पनि विविध कार्यक्रम गर्दै छन् । यसै अवसरमा काठमाडौंमा मात्र नभएर पोखरा, लुम्बिनी, चितवनलगायतका पर्यटकीय गन्तव्य स्थलमा विशेष कार्यक्रम भइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार