भोजपुर, ७ चैत्र ।
भोजपुरको साल्पासिलिछो गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ छात्रबृति वितरण गर्ने भएको छ ।
गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएर जिल्लामा पहिलो हुने एक जना छात्र वा छात्रालाई एक लाख छात्रबृति दिइने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत माधबकुमार अधिकारीले जानकारी दिए ।
गाउँपालिका भरी एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रालाई ५० हजार र छात्रलाई ४० हजार पुरस्कारले प्रोत्साहन गर्ने उनको भनाइ छ । त्यस्तै आधारभूत शिक्षा(कक्षा -८)मा उत्कृष्ट अंक ल्याउने छात्रालाई २५ हजार र छात्रलाई २० हजार पुरस्कार दिइने प्रशासकीय अधिकृत अधिकारीले बताए ।
गाउँ कार्यपालिकाको बैठकले उत्कृष्ट तथा जेहेन्दार विद्यार्थी छात्रबृति पुरस्कार मापदण्ड –२०७९ पारित गरेर छात्रबृतिको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । पुरस्कार यो शैक्षिक सत्रबाट लागु भएको उनको भनाइ छ ।‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन छात्रबृति मार्फत प्रोत्साहन गर्ने निर्णय गरेका छौँ’ उनले भने,‘यसले विद्यार्थीमा मेहनत गर्ने बानीको विकास गर्न सहयोग पुग्छ भन्ने विस्वास लिएका छौँ ।’