काठमाडौं, ६ साउन । सशस्त्र प्रहरी बल नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा आइतबार पशुपतिनाथ मन्दिर इलाकामा रहेको विश्वरुपा मन्दिर तथा श्लेषमान्तक वन हातामा वृक्षारोपण गरिएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिरिषको बिरुवा रोपेर वृक्षारोपणको शुभारम्भ गरेका हुन् । सो क्रममा विभिन्न जातका गरी करीब एक हजार बोट विरुवा सो क्षेत्रमा रोपिएको छ ।
कार्यक्रममा सदस्य सचिव डा। ढकालले पर्यावरण तथा प्रकृतिको जगेर्ना गर्ने हेतुले वृक्षारोपण कार्यक्रम एउटा प्रयास स्वरुप थालनी गरिएको चर्चा गर्दै आगामी दिनमा समेत सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गरी यस किसिमको कार्यक्रम गरिने बताए । सदस्य सचिव डा। ढकालले यस क्षेत्रमा मात्र सिमित नभएर देशका अन्य भागमा समेत वृक्षारोपणको योजना रहेको उल्लेख गर्दै सृजना मात्रै नभई संरक्षण र सम्बद्र्धन गर्न पनि त्यति नै आवश्यक हुनेमा जोड दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो अवसरमा नेपाल सरकारले आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने नीति अनुरुप बोट बिरुवा रोपेर वातावरण हराभरा बनाउन सशस्त्र प्रहरी बल नेपालले आफ्नो तर्फबाट पूर्ण रुपमा प्रयास गर्ने बताए । महानिरीक्षक खनालले वृक्षारोपण कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने उल्लेख गर्दै पशुपंक्षीहरुको बासस्थानको रुपमा रहेको प्राकृतिक वनजंगल मासिदै गएकाले यसलाई जोगाउने अभिप्रायले वृक्षारोपण कार्यक्रम अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
सो कोषका निर्देशक भोलाप्रसाद सिटौलाले स्वागत मन्तव्यको क्रममा सशस्त्र प्रहरी बल, नेपालको विशेष सहभागितामा यस क्षेत्रमा विरुवा रोपेर वातावरणीय संरक्षणमा टेवा पु¥याउने हेतुले सो वृक्षारोपण कार्यक्रम गरिएकोे बताए





















