नारायण नगरपालिका कार्यालयमा छड्के गर्दा झण्डै आधा कर्मचारी गयल


दैलेख, २९ असार । जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिका कार्यालयको आकस्मिक हाजिरी छड्केमा आधा जति कर्मचारी गयल परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले आइतबार गरेको छड्केमा ३ जना छैटौँ तहका अधिकृत र ८ जना कार्यालय सहयोगीहरुसमेत २९ जना गयल भेटिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले जानकारी दिए।

जम्मा ६६ जना कर्मचारी रहेको एउटै कार्यालयमा आर्थिक वर्षको अन्तिम समयमा झण्डै आधा कर्मचारी गयल भेटिनुलाई आश्चर्यको रुपमा लिइएको छ ।
कर्मचारी हाजिरी रजिष्टरमा बिदा पनि नदेखाइ बस्ता अनुगमनको काज देखाउन सकिने लोभमा कर्मचारीले हाजिरी नगरी बसेका सेवाग्राहीको बुझाइ छ । २३ वर्ष अघि स्थापना भएको जिल्लाको पहिलो नगरपालिकामा छड्के हाजिरीमा यति धेरै कर्मचारी गयल भेटिनुले राजनीतिक प्रभावमा जागिर खाएका कर्मचारीहरु रहेको भन्ने जनगुनासोलाई पुष्टि गरेको छ ।

बिनासूचना कार्यालयमा गयल कर्मचारीको नामावलीसहित लिखित स्पष्टीकरण लिन नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रेशम बुढालाई पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी बासकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार