
संखुवासभा, २९ असार । लगातारको वर्षाका कारण संखुवासभाको चैनपुर नगरपालिका(४ मा रहेको पोखरीबजार नजिकैका ४ घर पहिरोको उच्च जोखिममा परेका छन् ।
केही दिनदेखि परेको अविरल वर्षाले स्थानीय लिलाबहादुर कार्की, बर्तबहादुर राई, फुर्वा शेर्पा र पदमबहादुर राईको घर पहिरोको उच्च जोखिममा परेका हुन् । उनीहरुको घरमुनिबाट पहिरो झर्न थालेपछि घर नै तान्ने हो कि भन्ने डर फैलिएको छ।
पहिरोले तान्न लागेको ४ घरमध्ये स्थानीय पदमबहादुरको घर मात्र पक्की छ भने अरु ढुङ्गा माटो र फुसको छानो भएका घर छन् । घरमुनिबाट पहिरो खस्न थालेपछि रातभर निन्द्रा नै लाग्न छोडेको पदमबहादुरले बताए । ‘राति निदाएको बेला कतिबेला घरसहित हामीलाई बगाउने हो भनेर निन्द्रा नै लाग्न छोडेको छ । रातभर जाग्राम बसिरहेको छु । दिन दिनै तलबाट पहिरो झरिरहेको छ । सरकारले रोकथाम गरिदिए हुन्थ्यो’, उनले भने ।
पहिरोले घर तान्न थालेपछि नेपाल रेडक्रस सोसाइटी चैनपुर उपशाखाले वितरण गरेको त्रिपालले पहिरो गएको ठाँउमा माथिबाट छोपिएको स्थानीय पदमबहादुरले बताए । उनले त्रिपालले छोपेर मात्र घरहरु जोगाउन नसकिने हुँदा पहिरोको जोखिममा रहेका उक्त घरहरुलाई संरक्षणको लागि तलबाट जालीसहितको गारो लगाउनु पर्ने र आफूहरुलाई वैकल्पिक ब्यबस्थापनका लागि सहयोग गर्नु पर्ने माग गरेमा छन्।
घर नजिकैबाट खनिएको मोटर बाटो, कमजोर भू–बनावट र बर्खाको समयमा केहीदिन अघिदेखि परेको अविरल वर्षाका कारण ती घरहरु पहिरोको उच्च जोखिममा परेको स्थानीय मोहनकुमार राईले बताए। उनले पहिरोको रोकथाम र संरक्षणको लागि सम्बन्धित निकायले बेलैमा ध्यान पुर्याउनु पर्ने समेत बताए ।





















