बैतडी, १२ कातिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि पुरचौंडी नगरपालिका वडा नं ४ मा पनि आफ्ना उम्मेद्वार छनौट गरेको छ । वडा कमिटिको आज बसेको बैठकले उम्मेद्वारका आकांक्षीहरुको सहमतिमा शैलेन्द्र धानुकलाई उम्मेद्वार बनाउने निर्णय गरेको नेकपाका प्रदेश कमिटि सदस्य एवं पुरचौंडी नगरपालिकाका प्रमुख रणबहादुर कँुवरले जानकारी दिनुभयो ।
धानुकको नाम अनुमोदनका लागि जिल्ला कमिटिमा सिफारिश गरिएको उहाँले बताउनुभयो । नेकपाले यसअघि बैतडीको दोगडाकेदार ४ र सुर्नया १ मा पनि उम्मेद्वारको टुंगो लगाईसकेको छ । दोगडाकेदार ४ मा नरेन्द्रप्रसाद भट्ट र सुर्नया १ मा धनबहादुर चन्दलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । यो संगै नेकपाले उपनिर्वाचन हुने बैतडीका तीनओटै वडामा आफ्ना उम्मेद्वार छनौट गरिसकेको छ । उपनिर्वाचनका लागि अन्य दलहरुले अझै पनि उम्मेद्वारको टुंगो लगाउन सकेका छैनन् ।






















