एमालेबाट प्रदेशसभा सांसदमा सिर्जना राई मनोनित, यस्तो छ राईको राजनितिक यात्रा


भोजपुर, २५ मंसिर । भोजपुरबाट सिर्जना राई प्रदेश १ समानुपातिक संसादमा मनोनित भएकी छिन । लामो समय एमालेको राजनितिमा विताएकी राई भर्खर सम्पन्न निर्वाचनपछि समानुपातिक सांसदमा मनोनित भएकी हुन् । समानुपातिक सूची अनुसार राईसहित एमालेबाट प्रदेश १ मा १५ जना प्रदेश सभा सांसदमा सिफारिस भएका छन् ।

यस्तो छ सिर्जना राईको राजनितिक यात्रा
सिर्जना राईको जन्म भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा भएको हो । माता पुष्पा राई र पिता अधिराज राईको तेस्रो सन्तानको रुपमा २०४० साल माघ ९ गते जन्मिएकी राई एमालेको एक सशक्त महिला नेतृ हुन् । अर्थशास्त्रमा एम सम्मको शिक्षा हासिल गरेकी राई विद्यार्थी जीवनबाट नै राजनितिमा लागेकी हुन् । महिलाको अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै राजनितिमा लागेकी राइको विभिन्न सामाजिक संघ संस्थामासमेत आवद्धता रहेको छ ।

२०५४ सालमा सिंहदेवी माध्यमिक विद्यालयमा गठन भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को प्रारम्भिक कमिटीको सचिव पदको जिम्मेवारी लिएसँगै राईको राजनितिक जीवन शुरु भएको हो । २०५६ सालमा भोजपुर क्याम्पसको अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य बनेकी राई २०५७ सालमा अनेरास्ववियूको जिल्ला कमिटी सदस्य बनिन् । २०६० सालमा एमालेको संगठित सदस्यता प्राप्त गरेकी राई २०६६ सालमा तत्कालिन छिनामखु गाविस कमिटी सदस्य बनेसँगै २०६९ सालमा एमालेको जिल्ला कमिटी सदस्य बनेकी हुन् । शालिन र इमान्दर छवि बनाएकी राई पार्टीको काम गर्दै जाने क्रममा २०७३ सालमा एमालेको सचिवालय सदस्य र तत्कालिन छिनामखु गाविसको इन्चार्जको जिम्मेवारी प्राप्त गरिन् । पार्टीले दिएको जिम्मेवारीलाई सर्वोपरी ठानेर पार्टी काममा नथाक्ने राई २०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेकी थिइन् ।

२०७४ सालमा अखिल महिला संघको प्रदेश कमिटी सदस्य बनेकी राई २०७५ सालमा एमालेको जिल्ला कमिटि सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुखको जिम्मेवार पाउन सफल भइन् । २०७५ सालमा नै अनेमासंघको केन्द्रिय सदस्य बनेकी राई २०७७ सालमा विभाजित नेकपाको केन्द्रिय सदस्यमासमेत मनोनित भईन् ।

हाल प्रदेश कमिटी सचिवालय सदस्य तथा अनेमासंघ प्रदेश इन्चार्ज रहेकी राई २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रदेश सभा सदस्यमा समानुपातिक तर्फ बन्दसूचीमा परेकी थिइन् । एमालेले पाएको समानुपातिक मतको आधारमा राई प्रदेश सभा सदस्यमा मनोनिति भएकी हुन् । राजनितिक जीवन शुरु गरेको २५ वर्षमा राई प्रदेश सभा सांसद बन्न सफल भएकी हुन् । राई प्रदेश सभामा भोजपुरबाट समानुपातिकमा मनोनित हुने एक मात्र महिला हुन् । प्रदेश सभा सदस्यमा यहाँबाट अन्य दलको तर्फबाट कसैको पनि नाम सिफारिसमा परेको छैन ।
भोजपुरबाट समानुपातिकमा सिफारिस परेका नाम ः
प्रदेश सभा तर्फ :
एमाले : सिर्जना राई
प्रतिनिधि सभा तर्फ :
एमाले : हेमराज राई
काङ्ग्रेस : माया राई
माओवादी केन्द्र : दुर्गा राई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार