२५ प्राध्यापक बर्खास्त, २० लाई नसियत


काठमाडौं, ३ माघ। त्रिभुवन विश्वविद्यालय मातहत अध्यापन गर्ने २५ प्राध्यापकलाई बर्खास्त गरिएको छ । त्रिविका आंगिक क्याम्पसमा पढाउन छोडेर निजीमा बढी समय दिएको भन्दै उनीहरूलाई बर्खास्त गरिएको हो । लगातार ९० दिनसम्म क्याम्पसमा उपस्थित नभएपछि उनीहरूलाई बर्खास्त गरिएको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्र्गत देशभर ६१ आंगिक क्याम्पस छन् । प्राध्यापन क्षेत्रमा सरकारी कोटामा रहेर बाहिर बढी समय पढाउने प्राध्यापकलाई हेल्मेट प्राध्यापकको रूपमा चिनिन्छ ।

पछिल्लो एक वर्षमा ४० जना शिक्षक र कर्मचारीलाई सेवाबाट हटाइएको हो । जसअन्तर्गत २५ शिक्षक र १५ कर्मचारीहरू रहेका छन् । बर्खास्त हुनेमा शिक्षकअन्तर्गत उपप्राध्यापक, सहप्राध्याक र प्राध्यापक छन् । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट बर्खास्त गर्ने उल्लेख छ । सो प्रावधानअनुसार उनीहरूलाई सेवाबाट बर्खास्त गरिएको हो ।
यस्तै, पूर्वस्वीकृत नलिई काम गरेका २० जना शिक्षकलाई नसियत गराइएको छ । उनीहरूलाई नसियतस्वरूप लिखित रूपमै सचेत गराइएको त्रिविले बताएको छ । त्रिभुवन विश्वविद्यालयबाहेक अन्य निकायमा पूर्वस्वीकृतिबिना अन्य ठाउँमा गर्न नमिल्ने प्रावधान छ ।

अनुगमन निर्देशनालयसम्बन्धी विनियम, २०७३ मा त्रिविबाहेक अन्य संस्थामा आंशिक रूपमा काम गर्न चाहने शिक्षक तथा कर्मचारीलाई त्रिविको कामकारबाहीमा असर नपर्ने गरी स्वीकृति दिन सक्ने प्रावधान छ । पूर्वस्वीकृतिबिना अध्यापन नगराउन तथा नगर्न निर्देशन दिइएको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले बताए ।
त्रिभुवन विश्वविद्यालय मातहत ७ हजार ५ सय शिक्षक र ७ हजार ५ सय कर्मचारी कार्यरत छन् ।
निर्देशनालयका कार्यकारी निर्देशक खनालका अनुसार अध्यापन गराउँदै आएको क्याम्पस र अध्यापन गराउन चाहेको क्याम्पसबीचको सहमतिपत्रका आधारमा स्वीकृति दिँदै आएको छ । हालसम्म ४ सय शिक्षकलाई स्वीकृति प्रदान गरिएको निर्देशनालयले जनाएको छ ।

यस्तै, ६ सयलाई अध्यापन र अन्य कामका लागि स्वीकृति दिने गृहकार्य थालिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिए । अनुगमन निर्देशनालयसम्बन्धी विनियम, २०७३ लाई आधार मानेर पूर्वस्वीकृतिका लागि शिक्षक वा कर्मचारीले निवेदन दिँदा १ हजार शुल्क तोकिएको छ ।
विद्यार्थीहरूले हेल्मेट शिक्षकका कारण आफूहरूलाई अध्ययनमा अप्ठेरो परेको गुनासो गर्दै आएका छन् । केही प्राध्यापकले सरकारी क्याम्पसमा हाजिर गरेर निजी धाउने गरेको जनगुनासो बढेपछि निर्देशनालयले अनुगमनसमेत गर्न थालेको छ । स्नातक पढाउने प्राध्यापकले सातामा १५ घन्टी र स्नातकोत्तर पढाउनेले १२ घन्टी पढाउनुपर्ने प्रावधान छ । राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार