
युवराज विष्ट
भोजपुर,२ माघ ।
दोश्रो पौवादुङमा गोल्ड कप र बृहत माघी मेला आयातित खानेकुरामा निषेध गरिएको छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्ने लक्ष्यले आयातित पत्रु खानेकुरामा रोक लगाइएको पौवादुङमा गाउँपालिकाले जनाएको छ । मेलामा स्थानीय उत्पादनहरु कोदो,मकै, गहुँ फापर,भुटेको मकै मुन्द्रुक, इस्कुसको तरुल, घर तरुललगायतका परिकार मात्र विक्री वितरणको लागि खुल्ला गरिएको छ । त्यस्तै बाह्य पेय पदार्थलाई निधेष गरेर स्थानीयस्तरमा पाईने महि, दहि, एकाकार्डोको जुस, सुन्तलालगायतको मात्र विक्री वितरण भईरहेको छ ।
प्रतियोगिता तथा माघिमेलामा पत्रु खाना (जङ फुड) निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले जानकारी दिनुभयो । गाउँपलिकाले पत्रुखाना खानालाई निरुत्साहित गर्ने लक्ष्यका साथ काम गरिरहेकोले यस्ता खालका खानाहरुको विक्री वितरणमा रोक लगाइएको उहाँको भनाइ छ ।
“प्रतियोगिता र मेला अवधिभर आयातित खानेकुराको बेचविखनमा रोक लगाएका छौँ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो,“हामीले स्थानीयस्तरमा पाईने खानेकुरालाई मात्र विक्री वितरणका लागि अनुमति दिएका छौैँ । यसले स्थानीय उत्पादनको प्रर्वद्धनमा टेवा पुग्ने छ ।”
स्थानीय उत्पादनको प्रर्वद्धन विकास र बजारीकरण गर्ने लक्ष्यले विगतका वर्षबाट नै बृहत माघी मेलासँगै पौवादुङमा गोल्ड सञ्चालन भईरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पु¥याउने लक्ष्यले बृहत माघिमेलासँगै गोल्ड कपको आयोजना गरिएको उहाँको भनाइ छ ।
“हामीले यहाँका स्थानीय उत्पादनको विकास तथा प्रर्वद्धन जोड दिन आवश्यक छ”अध्यक्ष राईले भन्नुभयो,“मेला महोत्सवमा बाह्य बस्तुले बढी महत्व पाउँदा स्थानीय उत्पादन ओझेलमा परेका धेरै उदाहरण छन् । हामीले भने महोत्सवमा आयातित खानेकुराको बेचविखनमा रोक लगाएका छौँ ।”
गोल्ड कप तथा मेलाको उद्घाटन गर्दै कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले गोल्ड कप तथा माघिमेला सञ्चालनले खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने बताउनुभयो । साथै उहाँले निर्माणधीन रंगशालालाई पूर्णतादिन बजेट व्यावस्थापनमा पहल गर्ने बताउनुभयो । संंघीयता कार्यन्वयन पश्चात विकासले गति लिएको उहाँको भनाइ छ ।
पौवादुङमा गाउँपालिकाले पूर्वमुख्यमन्त्री राईलाई सम्मानसमेत गरेको छ । गाउँपालिकाको विकासमा टेवा पु¥याएको भन्दै गाउँपालिकाले सम्मान गरेको हो । त्यस्तै गोल्ड कप तथा माघिमेला सञ्चालनमा आर्थिक सहयोग गर्ने मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठलाई पनि सम्मान गरिएको छ । उहाँले प्रतियोगिता सञ्चालनको लागि रु. एक लाख सहयोग गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने पौवादुङमा आयोजक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको छ । मेला र प्रतियोगिता माघ १० गतेसम्म सञ्चालन हुनेछ ।