
भोजपुर, ९ कात्र्तिक ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ मा जनताले चाहे जस्तै विकास गरेर छाड्ने बताउनु भएको छ । शनिबार नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)नगरकमिटि भोजपुरले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै राईले यस्तो बताउनु भएको हो । १ नम्बर प्रदेश सबै सम्भावनाले भरिपूर्ण रहेको बताउदै राईले यहाँका स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडी बढाउने बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो‘‘ यो प्रदेशलाई समृद्ध बनाउने गरि मैले काम अगाडी बढाएको छु, प्रदेशसंगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडी बढ्छ ।’’
विकासको लागि सबैले प्रत्येक सेकेन्डको महत्वलाई बुझेर काम गर्नु पर्ने राईको भनाई थियो । राईले भन्नुभयो‘‘ तपाई हामी यो देशका सचेत नागरिक हौ, हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी वहन गर्न आवश्यक छ ।’’ प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भएपनि काममा सोच अनुरुप खर्च नभएकोमा भने उहाँले चिन्ता व्यक्त गर्नु भयो । साथै उहाँले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आफैले पनि अग्रसर भएर निग्रानी गर्नु पर्ने समेत बताउनु भयो । मुख्यमन्त्री राईले भन्नुभयो ‘‘ विकास गर्नका लागि हामीले करोडौ बजेट छुट्याएका छौ र काम पनि भईरहेको छ तर जनताको तर्फबाट पनि भईरहेको काममा निग्रानी र खवरदारी हुनु प¥र्याे । ’’
प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी,गुणस्तरिय र जनमुखी तबरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भईरहेको उहाँको भनाइछ । आफूले भष्ट्रचारमा शुन्य सहनशिलताको कायम गरेको बताउदै उहाँले प्रमाण सहित आफुलाई जानकारी दिए एक घण्टा भित्र कारबाही गर्ने समेत बताउनु भयो । ‘‘कामलाई प्रभावकारी बनाउन मैले अनुगमन समिति गठन गर्ने तयारी गरिरहेको छु, तपाईले कही कतै काममा गडबडी गरेको पाउनु भयो भने जानकारी दिनुहोला म तत्काल कारबाहीको दायरामा ल्याउन तयार छु ।’’ मुख्यमन्त्री राईले भन्नुभयो ।
मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि रु. दुई करोड विनियोजन गरेको समेत जानकारी दिनुभयो । साथै उहाँले जिल्लाको ठुला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने समेत बताउनुभयो । आगामी आर्थिक वर्ष भित्र भोजपुरका सवै जनता विद्युतको पहुँचमा पुग्ने समेत जानकारी दिनुभयो ।























