ओली पक्राउविरुद्ध एमाले भोजपुरको विरोध, विना सर्त तत्काल रिहाइको माग


भोजपुर,१५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भोजपुर जिल्ला कमिटीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै विरोध पत्र बुझाएको छ।

जिल्ला प्रशासन कार्यालय भोजपुरमार्फत नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँलाई सम्बोधन गर्दै पार्टीले उक्त पत्र पठाएको हो। पत्रमा वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा पूर्वाग्रह राखी ओलीलाई पक्राउ गरेको आरोप लगाइएको छ।

पार्टीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेको छ। यसका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ।

एमाले भोजपुरले आयोगको प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक नगरी कार्यान्वयन गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ। यसले सरकारको नियतमाथि प्रश्न उठाएको पनि पत्रमा उल्लेख छ।

भोजपुर जिल्ला पार्टी कमिटी अध्यक्ष मक्कर खड्काद्धारा हस्ताक्षरित विरोध मात्रमा पार्टी अध्यक्ष ओलीलाई बिना प्रमाण र पूर्वाग्रहका आधारमा पक्राउ गरिएको दाबी गर्दै तत्काल बिना सर्त रिहाइ गर्न माग गरिएको छ।

माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मामा सरकार स्वयमले लिनु पर्ने विरोध पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार