
युवराज विष्ट
भोजपुर, २२ चैत । भोजपुरका तीन स्थानीय तहको संयुक्त आयोजनामा सञ्चालन गरिएको प्रथम ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न भएको छ। चैत २१ र २२ गते सञ्चालन भएको प्रतियोगिता हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसादराई गाउँपालिका को सहकार्यमा आयोजना गरिएको हो।
मुन्दुम पदमार्गको प्रचार–प्रसार तथा साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीनवटा स्थानीय तह र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो। भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको दौड आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६० किलोमिटर दूरीमा सञ्चालन गरिएको हो।

समापन कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले यस्ता प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो। साथै उहाँले प्रदेश सरकार पर्यटन क्षेत्रको विकासमा सक्रिय रहेको जानकारी दिनुभयो।

कोशी प्रदेश सांसद विनोद वान्तावाले पर्यटन क्षेत्रको विकासमा जोड दिन आवश्यक रहेको धारणा राख्नुभयो। पर्यटनबाट आर्थिक उपार्जन गर्न सकिने सम्भावनालाई ध्यानमा राखेर राज्यले लगानी बढाउनुपर्ने उहाँको भनाइ छ।

पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो।
आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले प्रतियोगिताले स्थानीय मौलिक संस्कृति, परिकार र पहिचानलाई देश–विदेशमा चिनाउने अवसर प्रदान गरेको बताउनुभयो ।

मुन्दुम अल्ट्रा ट्रेल रेसले यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा टेवा पुगेको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो। समुन्द्री सतहबाट करिब १५० मिटरदेखि २ हजार २२३ मिटरसम्मको उचाइमा प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ।
प्रतियोगिता सञ्चालनका लागि तीनै गाउँपालिकाले पाँच–पाँच लाख रुपैयाँका दरले जम्मा १५ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो। यसले यहाँका पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
प्रतियोगितामा ६० किलोमिटर पुरुष खुल्ला तर्फ ओखलढुङ्गाका विनोद थापा मगर ६ घण्टा ५० मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम हुनुभयो। खोलुखुम्बुका अर्जुन कुलुङ द्वितीय र मिलन राई तृतीय बन्नुभयो। विजेताहरूले क्रमशः नगद रु ८० हजार, ६० हजार र ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

महिला खुल्ला ६० किलोमिटर दौडमा खोटाङकी निर्मला राई प्रथम, रोल्पाकी आश्मा वि.क. द्वितीय र सोलुखुम्बुकी आङफुर्वा शेर्पा तृतीय बन्नुभयो। उहाँहरूले ट्रफी, मेडल र प्रमाण पत्रको साथमा क्रमशः रु ८० हजार, ६० हजार र ४० हजार पुरस्कार प्राप्त गरेका आयोजक समितिका सचिव रविन थापाले जानकारी दिनुभयो।
पुरुष खुल्ला ४५ किलोमिटर दौडमा काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बु द्वितीय र भोजपुरका उमेश राई तृतीय बन्नुभयो। उहाँहरूले ट्रफी, मेडल र प्रमाण पत्रको साथमा क्रमशः रु ६० हजार, ४० हजार र २० हजार पुरस्कार प्राप्त गरेका छन्।

महिला ४५ किलोमिटर तर्फ पाँचथरकी पुष्पा लिम्बु प्रथम, जुम्लाकी रोश्नी बुढा द्वितीय र भोजपुरकी रुश्मा राई तृतीय बन्नुभयो। उहाँहरूले ट्रफी, मेडल र प्रमाण पत्रको साथमा क्रमशः रु ६० हजार, ४० हजार र २० हजार पुरस्कार प्राप्त गरेका छन्।
भेटेरन (४० वर्षमाथि) पुरुषतर्फ धरानका यामानाथ लिम्बु प्रथम, विजय राई द्वितीय र रेशम लिम्बु तृतीय बन्नुभयो। उहाँहरूले ट्रफी, मेडल र प्रमाण पत्रको साथमा क्रमशः रु २० हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गरेका आयोजक समितिका अध्यक्ष सन्दिप किरावाले बताउनुभयो।
भेटेरन महिला तर्फ भोजपुरकी जमुना राई प्रथम र विनिता राई द्वितीय बन्नुभयो। उनीहरूले क्रमशः रु २० हजार र १५ हजार पुरस्कार प्राप्त गरेका छन्।
खोटाङको साकेला गाउँपालिकाको तावाभञ्ज्याङमा भएको समापन कार्यक्रममा स्विस सरकारका राजदूत डेनेली माउली, भोजपुर नगरपालिका प्रमुख कैलाशकुमार आले, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किराती, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।



















