पौवादुङमामा बैशाख ९ देखि १८ गतेसम्म ‘विराट ज्ञानमहायज्ञ तथा सांस्कृतिक महोत्सव हुँदै


युवराज विष्ट
भोजपुर, २३ चैत ।
पञ्चकन्या मन्दिरको निर्माणको लागि भोजपुरको पौवादुङमा गाउँपालिकामा आयोजना हुन लागेको ‘विराट ज्ञानमहायज्ञ तथा पौवादुङमा सांस्कृतिक महोत्सव–२०८३’ लाई भव्य रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ। महायज्ञबारे गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत कार्यक्रमको उद्देश्य, तयारी, सञ्चालन तालिका र अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष किरण राई र प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले महायज्ञको समग्र पक्षबारे जानकारी दिँदै यसलाई धार्मिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनसँग जोडिएको महत्वपूर्ण अभियानका रूपमा लिइएको बताउनुभयो ।

गाउँपालिकाका अनुसार महायज्ञ आगामी २०८३ वैशाख ९ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा ‘श्रीमद्देवी भागवत महापुराण नवाह धनधान्याञ्चल महायज्ञ’ मुख्य आकर्षणका रूपमा रहनेछ भने कार्यक्रमका प्रमुख वाचकका रूपमा आचार्य सोमप्रसाद कोइराला रहनु भएको छ ।
गाउँपालिका अध्यक्ष राईले पत्रकार सम्मेलनमा बोल्दै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकन्या देवीको कलात्मक मन्दिर निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित महायज्ञ आयोजना गरिएको बताउनुभयो ।
“हामीले धार्मिक आस्थालाई संरक्षण गर्दै यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएका छौं,”अध्यक्ष राईले भन्नुभयो,“नागरिकस्तरको मुख्य सहभागितामा कार्यक्रम गर्न लागिएको हो । महायज्ञले स्थानीय स्तरमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै मन्दिर निर्माणमा आवश्यक सहयोग जुट्ने अपेक्षा लिएका छौँ ।”

पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार निर्माण गरिने मन्दिर गजुरसहित करिब ३१ फिट अग्लो हुनेछ। मन्दिर पुरातात्विक शैलीअनुसार निर्माण गरिनेछ भने छानो तामाको बनाइने योजना रहेको छ। मन्दिर निर्माणको अनुमानित लागत करिब रु. १ करोड ८३ लाख ८४८ रहने जानकारी दिइएको छ।


प्रमुख प्रशासकीय अधिकृत भट्टराईले महायज्ञ सफल पार्न सबै सरोकारवाला निकाय, संघसंस्था, प्रवासी नेपाली तथा श्रद्धालुहरूबाट व्यापक सहयोग अपेक्षा गरिएको बताउनुभयो। उहाँका अनुसार महायज्ञलाई व्यवस्थित, पारदर्शी र प्रभावकारीढंगले सञ्चालन गर्न मूल आयोजक समितिलगायत विभिन्न उपसमितिहरू गठन गरिनेछ। साथै पुराणको प्रचार–प्रसारलाई प्रभावकारी बनाउन जिल्ला बाहिरका ठूला शहरमा पनि उप समिति गठन गरिने तयारी गरिएको छ।
महायज्ञ अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। जसअन्तर्गत श्रीमद्भागवत प्रवचन, विभिन्न धर्मगुरुहरूबाट धार्मिक प्रवचन, स्थानीय कला र संस्कृतिको झाँकी तथा प्रस्तुति, तुलादान, धान्याञ्चल, तर्पण, चण्डीपाठ, रुद्राभिषेकलगायतका कार्यक्रम समावेश छन्। साथै जन्मभूमि दर्शन अभियान, निःशुल्क योग तथा स्वास्थ्य शिविर जस्ता सामाजिक गतिविधिहरू पनि सञ्चालन गरिनेछन्।
महायज्ञ सफल पार्न आयोजक समितिले विभिन्न सहयोग प्याकेजहरू निर्धारण गरेको छ। गोदान, नित्य पूजा, दैनिक आरती, चण्डीपाठ, तुलादान, पितृ तर्पण, अतिथि सेवा, दैनिक तथा सामूहिक भोजन, दक्षिणा तथा यज्ञ सञ्चालन खर्चलगायतका शीर्षकमा दाताहरूले आर्थिक सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ। एक दिनको सम्पूर्ण खर्चदेखि सम्पूर्ण यज्ञ सञ्चालनसम्मका लागि सहयोग गर्ने विकल्पसमेत खुला गरिएको छ।


आयोजकका अनुसार महायज्ञबाट संकलित सम्पूर्ण रकम पञ्चकन्या देवीको मन्दिर निर्माणमा खर्च गरिनेछ। साथै सहयोगकर्ताहरूको योगदानको कदर गर्दै मन्दिर परिसरमा शिलालेखमार्फत नाम अंकित गरिने र उचित सम्मान प्रदान गरिने व्यवस्था मिलाइएको छ।

महायज्ञमा सहभागी हुने श्रद्धालुहरूले धान, चामल, तिल, जौ, सागसब्जी, दूध, दही, मह, घिउलगायत पूजा सामग्रीहरूसमेत ल्याई सहयोग गर्न सक्ने जनाइएको छ। साना–साना सहयोगहरूलाई पनि महत्व साथ लिएने जनाइएको छ ।

यो महायज्ञले पौवादुङमा क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन, स्थानीय कला–संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, आर्थिक गतिविधि विस्तार र सामाजिक एकता मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताइएको छ । साथै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्दै समग्र क्षेत्रको पहिचान स्थापित गर्नसमेत यसले सहयोग गर्ने विश्वास लिइएको छ।

मन्दिर निर्माण सम्पन्न भएपछि यसको दीर्घकालीन संरक्षण तथा सञ्चालनका लागि “च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर संरक्षण समिति” गठन गरी स्थानीयस्तरमै व्यवस्थापन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार