
युवराज विष्ट
भोजपुर,१८ असार ।
मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटन प्रवर्धन गर्दै पर्यटकलाई गुणस्तरीय तथा पर्यटकमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा तीन दिने होटल तथा हस्पिटालिटी व्यवस्थापन तालिम सञ्चालन गरिएको छ।
गाउँपालिकाको पहलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय होटल व्यवसायी, होमस्टे सञ्चालक तथा पर्यटनसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको छ। तालिममार्फत सहभागीहरूले पर्यटकमैत्री सेवा प्रदान गर्ने तरिका, होटल व्यवस्थापनका आधारभूत सिद्धान्त, सरसफाइ तथा स्वच्छता कायम गर्ने उपाय, आतिथ्य सत्कारका विधि, खाद्य सुरक्षा, ग्राहक सेवा तथा पर्यटन व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान र सीप हासिल गर्नेछन्।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्ग टेम्केमैयुङ क्षेत्रको महत्वपूर्ण पर्यटकीय सम्पदा भएको उल्लेख गर्दै यसको प्रवर्धन र व्यवस्थित विकासका लागि स्थानीय तहले विशेष पहल गरिरहेको बताउनुभयो। उहाँले पर्यटन क्षेत्रलाई आयआर्जनको प्रमुख आधारका रूपमा विकास गर्न यस्ता तालिमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
“पर्यटकलाई आकर्षित गर्न केवल प्राकृतिक सौन्दर्य मात्र पर्याप्त हुँदैन”अध्यक्ष बस्नेतले भन्नुभयो,“ गुणस्तरीय सेवा र आतिथ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यस तालिमले स्थानीय व्यवसायीलाई सक्षम बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउनेछ।”
त्यसैगरी गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन प्रवर्धनसँगै स्थानीय उत्पादन र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले तालिमले मुन्दुम पदमार्ग क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताउनुभयो ।






















