
युवराज विष्ट
भोजपुर, २७ चैत ।
भोजपुरको हतुवागढी गाउँपालिका–४ मा अवस्थित किरात सभ्यता र संस्कृतिसँग गहिरो सम्बन्ध बोकेको ऐतिहासिक स्थल ‘लुङथुङ’ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ। प्राकृतिक रूपमा अनौठो संरचनामा रहेको यो शिला धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिए पनि आवश्यक संरक्षण, अध्ययन र प्रवद्र्धन नहुँदा यसको पहिचान सीमित बन्दै गएको छ।
स्थानीयवासी विजयकुमार राईका अनुसार ‘लुङथुङ’ नाम आफैंमा किरात संस्कृतिको प्रतीक हो। किरात (वान्तावा) भाषामा ‘लुङ’ को अर्थ ढुङ्गा र ‘थुङ’ को अर्थ गाडिएको भन्ने हुन्छ। “यहाँ रहेको शिला हेर्दा नै आश्चर्य लाग्छ, मानौं कसैले चिरानी गरेर मिलाएर गाडेको हो,”उहाँले भन्नुभयो, “करिब ९ फिट अग्लो यो शिला यसरी ठडिएको देख्दा जो कोही पनि अचम्मित हुन्छ।”
उक्त शिलामा ‘मंगल सिंह राई ३४’ लेखिएको पाइए पनि यसको वास्तविक इतिहास र स्थापना समयबारे स्पष्ट अभिलेख भेटिएको छैन। यद्यपि, पुस्तौंदेखि स्थानीय समुदायले यसलाई धार्मिक आस्थाको केन्द्रका रूपमा मान्दै आएका छन्। स्थानीय विश्वासअनुसार यो शिला गाउँको संरक्षणसँग जोडिएको छ र यसलाई अन्यत्र सारिएमा गाउँमा विपद् आउने जनविश्वास रहिआएको छ।
“यो केवल ढुङ्गा मात्र होइन, हाम्रो पहिचान र आस्थासँग जोडिएको सम्पदा हो,” राईले भन्नुभयो, “यही शिलाको नामबाट गाउँको नामसमेत ‘लुङथुङ’ रहन गएको हो । जुन हाम्रो इतिहासको जिवन्त प्रमाण हो।”
लुङथुङ क्षेत्र प्राकृतिक रूपमासमेत आकर्षक छ। हरियाली वातावरण, शान्त परिवेश र पहाडी भू–आकृतिले यो स्थानलाई पर्यटकीय हिसाबले सम्भावनायुक्त बनाएको छ। तर, आवश्यक पूर्वाधार अभावले गर्दा यहाँसम्म पुग्न कठिनाइ हुने गरेको छ। विशेष गरी पदमार्ग, संकेतचिन्ह, सूचना बोर्ड र आधारभूत सुविधा नहुँदा पर्यटक आकर्षित गर्न चुनौती देखिएको छ।
स्थानीय तहले भने यसको संरक्षण र प्रवद्र्धनका लागि प्रारम्भिक प्रयास थालेको छ। वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार ऐतिहासिक शिलाको संरक्षणका लागि घेराबारा गरिएको छ। “हामीले यसको महत्वलाई ध्यानमा राख्दै पहिलो चरणमा संरक्षणको काम गरेका छौं,”उहाँले भन्नुभयो,“अब यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेका छौं।”
उहाँका अनुसार आगामी दिनमा पदमार्ग निर्माण, सूचना केन्द्र स्थापना, प्रचार–प्रसार तथा सांस्कृतिक पर्यटनसँग जोडेर लुङथुङ क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना बनाइएको छ। स्थानीय समुदाय पनि यसको संरक्षण र प्रवद्र्धनमा सक्रिय रूपमा लाग्न थालेका छन्।
संस्कृति, इतिहास र प्रकृतिको संगमस्थलका रूपमा रहेको लुङथुङ उचित संरक्षण र प्रचार प्रसारमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
हालसम्म ओझेलमा परेको यो ऐतिहासिक सम्पदाले उचित ध्यान पाएमा भविष्यमा पर्यटन र सांस्कृतिक पहिचानको महत्वपूर्ण आधार बन्न सक्नेमा स्थानीय आशावादी छन्।


















