
युवराज विष्ट
भोजपुर, २७ जेठ ।
भोजपुरको पौवादुङमा गाउँपालिकामा घरेलु तथा साना उद्योग सम्बन्धी घुम्ती सेवा सञ्चालन गरिएको छ। स्थानीयस्तरमै उद्योग वाणिज्य सम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

घरेलु तथा साना उद्योग कार्यालय भोजपुरको आयोजनामा गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त घुम्ती सेवामार्फत उद्योग दर्ता, नवीकरण, नामसारी, व्यवसाय परामर्श, सीप तथा उद्यम विकाससम्बन्धी जानकारीलगायतका सेवा प्रदान गरिएको छ। सेवाका क्रममा नयाँ उद्योग दर्ता गर्न इच्छुक व्यक्तिहरूलाई आवश्यक कागजात, प्रक्रिया तथा सम्भावनाका विषयमासमेत जानकारी दिइएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख दुर्गाप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँले यस्ता घुम्ती सेवाले ग्रामीण भेगका नागरिकलाई सहज रूपमा सरकारी सेवा पहुँचमा ल्याउनुका साथै उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । “स्थानीय तहसम्म पुगेर सेवा दिनु नै हाम्रो उद्देश्य हो”उहाँले भन्नुभयो,“यसले उद्योग दर्ता प्रक्रियालाई सरल बनाउँदै व्यवसायिक वातावरण विस्तारमा मद्दत पु¥याउँछ, ।”
गाउँमै उद्योग तथा बाणिज्य सम्बन्धि सेवा पाउँदा स्थानीय उद्यमी तथा व्यवसायीहरूलाई जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने झन्झट हटेको छ। समय र खर्च दुवैको बचत भएको भन्दै सेवाग्राहीहरू उत्साहित देखिएका छन्।
विशेषगरी महिला, युवा तथा साना व्यवसायीहरूले यस प्रकारको सेवाबाट प्रत्यक्ष लाभ लिएको बताएका छन्। घरेलु तथा साना उद्योग कार्यालय भोजपुरले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानीय तहमा यस्ता घुम्ती सेवा सञ्चालन गर्ने योजना रहेको जनाएको छ।





















