
युवराज विष्ट
भोजपुर,२५ चैत ।
भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यवसायिक भैंसीपालनतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेतीपातीमा सीमित रहेका यहाँका किसानहरू अहिले आयआर्जन वृद्धि र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पशुपालनतर्फ उन्मुख भएका हुन्।
हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई लक्षित गरी विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी गाई, भैंसीपालनलाई प्रोत्साहन गर्न गोठ सुधार, उन्नत जातका भैंसी वितरण गरिएको हो ।
किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले विगत तीन वर्ष अघिबाट स्थानीयलाई भैंसी तथा उन्नत गाई वितरण कार्यक्रम सञ्चालन भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । किसानलाई दूधको माध्यमबाट आयआर्जनमा जोड्ने लक्ष्यका साथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको भैंसी वितरण गर्दै आएको उहाँले बताउनुभयो ।
हालसम्म गाउँपालिका भित्रका किसानलाई २७ वटा उन्नत जातको भैसी विरतण गरिएको उहाँले जानकारी दिनुभयो । भैंसी वितरणसँगै किसानलाई प्राविधिक तालिमसमेत उपलब्ध गराउने गरिएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको भैंसी वितरण कार्यक्रम किसानका लागि उपयुक्त रहेको हतुवागढी २ लुङ्गिनका स्थानीय कृषक हेमराज कार्कीले बताउनुभयो । गाउँपालिकाले भैंसीसँगै गोठ सुधारको कार्यक्रमसमेत सञ्चालन गरेकोले थप सहजता भएको उहाँको भनाइ छ ।
उहाँका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित भैंसीपालन अहिले व्यवसायिक रूपमा विस्तार हुँदै गएको छ। “गाउँपालिकाको भैंसी वितरण कार्यक्रमले हामीलाई प्रत्यक्ष लाभ पुगेको छ”उहाँले भन्नुभयो“दूध तथा दूग्धजन्य परिकार बिक्री गरेर आयआर्जन गर्ने अवस्था बनेको छ ।”
यहाँ उत्पादित दूध तथा दुग्धजन्य पदार्थ स्थानीय बजारका साथै नजिकका व्यापारिक केन्द्रहरूमा बिक्री हुने स्थानीयबासी धनबहादुर थापाले बताउनुभयो । केही किसानहरूले दही, घिउ, परिकार बनाउने गरेका छन् ।
लुङ्गिन क्षेत्र पशुपालनको लागि उपयुक्त रहेकाले पशुपालनमा जोड दिएको वडाध्यक्ष विचारी थापाले बताउनुभयो । गाउँपालिकाबाट वितरण भएका २७ वटा भैंसी मध्ये २२ वटा लुङ्गिन क्षेत्रका किसानले पालन गरिरहेको उहाँको भनाइ छ ।
“लुङ्गिन क्षेत्र पशपालनका लागि निकै उपयुक्त छ”वडाध्यक्ष थापाले भन्नुभयो,“हाल यहाँका २२ जना किसानलाई भैंसी वितरण गरेका छौँ ।” भैंसीपालनबाट आम्दानी सम्भव देखिएपछि किसानहरु गाउँमै बसेर व्यवसाय सञ्चालन गर्न प्रेरित भएका हुन्।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले किसानलाई पशुपालनका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित गाई, भैंसीपालनलगायत कृषि क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । “स्थानीय उत्पादन बढाउदै किसानको आयस्तर उकास्ने उद्देश्यले अनुदानमा भैंसी वितरण गरेका हौँ” अध्यक्ष राईले भन्नुभयो “यसले किसानलाई आयआर्जनमा जोड्न टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।”
गाउँपालिकाले आगामी दिनमा पशुपालनसँगै दुग्ध संकलन, प्रशोधन र बजार व्यवस्थापनलाई थप व्यवस्थित बनाउने योजना अघि सार्ने जनाएको छ ।
स्थानीय तहको पहलले ग्रामीण अर्थतन्त्र मजबुत बनाउँदै कृषिमा आधारित उद्यमशीलता विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको सरोकारवालाहरू बताउँछन्।


















